आज विश्व प्रेस स्वतन्त्रता दिवस : वर्षभर प्रेस स्वतन्त्रतामाथिको प्रहारबाट ५ सय ८४ पत्रकार पिँडित

press-freedom-day aaja

बैशाख २०, पोखरा,

आज मे महिनाको ३ तारिख अर्थात विश्व प्रेस स्वतन्त्रता दिवस । यस वर्ष ‘सार्वजनिक सम्पत्तिका रुपमा सूचना’ भन्ने नाराका साथ दिवस मनाइँदै छ ।

सन् १९९३ मा संयुक्त राष्ट्रसङ्घको साधारणसभाले घोषणा गरेपछि यूनेस्कोको आह्वानमा मे ३ मा विश्व प्रेस स्वतन्त्रता दिवस मनाउन थालिएको हो ।

कोरोनाको प्रभावका कारण भौतिकरुपमा सहभागी भइ कार्यक्रम गर्ने अवस्था नरहे पनि डिजिटल संवाद, छलफल तथा सञ्चारमाध्यममा सामग्री प्रकाशन÷प्रसारण गरेर दिवस मनाइँदैछ ।

यसैबीच प्रेस स्वतन्त्रता सूचकाङ्कमा नेपालले ६ स्थान सुधार गरेको छ । रिपोर्टर विदआउट बोर्डरले प्रकाशित गरेको प्रेस स्वतन्त्रता सूचकाङ्कमा नेपाल अघिल्लो वर्ष १ सय १२ औं स्थानमा रहेकोमा यो वर्ष ६ स्थान सुधार गरेर एक सय ६ औं स्थानमा पुगेको हो ।

एक सय ८० देश समावेश रहेको रिपोर्टका अनुसार छिमेकी देश भारत एक सय ४२ औं स्थानमा छ । नर्वे सबैभन्दा राम्रो प्रेस स्वतन्त्रता भएको देश बनेको छ । रिपोर्टर विदाउट बोर्डरले कोरोना महामारीको समयमा पत्रकारले गलत सूचनाको विरुद्धमा खोप जत्तिकै प्रभावकारी रुपमा काम गरिरहेको जनाएको छ ।
नेपाल पत्रकार महासंघका अनुसार नेपालमा प्रेस स्वतन्त्रतामाथिको प्रहारका यस वर्ष ४५ वटा घटनाहरू घटेका छन् । ती घटनाबाट ५ सय ८४ पत्रकार र तीन सञ्चारसंस्था पीडित बनेका छन् ।

यस्तै ५ सय ८४ पत्रकारमध्ये ७७ पत्रकारहरू महिला रहेका छन् । महासङ्घको अभिलेख अनुसार यस वर्ष ६ पत्रकार गिरफ्तारीमा परे भने कब्जा, अवरोधबाट चार पत्रकार पीडित भएका छन् । त्यसैगरी आक्रमणबाट ४८ र दुव्र्यवहार, धम्कीबाट १२ पत्रकार पीडित भएका छन् भने ५ सय १७ पत्रकार विभिन्न कारणले विस्थापनमा परेका छन् ।

महामारीको जोखिमका बीचमा पनि संसारभरका पत्रकारले गलत सूचना रोक्न प्रयास गरिरहेको र सूचनाकै माध्यमबाट कयौँको ज्यान जोगाएको पनि खबरमा उल्लेख छ ।