गण्डकीमा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु

corona

बैशाख १९, पोखरा,

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमण रहेको अवस्थामा थप ८ जनाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक एवं गण्डकी कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माद्वारा जारी गरिएको विज्ञप्तिमा थपिएका आठ जनासँगै कोरोना पोजेटिभ रहेको अवस्थामा मृत्यु भएकाहरूको सङ्ख्या दुई सय ३१ पुगेको जानकारी दिइएको छ ।


थपिएकामा कास्कीको पोखरा महानगरपालिका–१६ का ७७ वर्षिय पुरुष रहेका छन् । वैशाख १६ गते मात्र सङ्क्रमणको पुष्टि भएपछि होम आइसोलेसनमा रहेका ती पुरुषको आइतबार दिउँसो मृत्यु भएको हो । यस्तै कास्कीकै पोखरा महानगरपालिका–२६ की ५८ वर्षिया महिलाको पनि मृत्यु भएको छ । वैशाख १५ मा सङ्क्रमणको पुष्टि भएपछि उनलाई उपचारको लागि मणिपाल शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । उनको आइतबार बिहान मृत्यु भएको हो ।


पर्वतको कुस्मा नगरपालिका–५ की ७६ वर्षिया महिलाको पनि उपचारको क्रममा गण्डकी मेडिकल कलेजमा मृत्यु भएको छ ।
वैशाख १७ गते मात्रै कोरोना सङ्क्रमणको पुष्टि भएकी ती महिलाको शनिबार बिहान मृत्यु भएको हो ।


यस्तै, दाङको राप्ती गाउँपालिका–५ का ४३ वर्षिय पुरुषको उपचारको क्रममा गण्डकी मेडिकल कलेजमा मृत्यु भएको छ । ती पुरुषमा वैशाख १७ गते सङ्क्रमणको पुष्टि भएकोमा शनिबार बिहान निधन भएको हो ।
निर्देशनालयका अनुसार कास्कीको पोखरा महानगरपालिका–१६ का ७३ वर्षिय महिलाको शनिबार दिउसो मेडिप्लस अस्पतालमा मृत्यु भएको हो । वैशाख १२ गते सङ्क्रमणको पुष्टि भएपछि उनलाई उपचारको लागि अस्पतालमा राखिएकोमा शनिबार दिउँसो मृत्यु भएको हो । सोही अस्पतालमा नै पोखरा महानगरपालिका–१० की अर्की एक महिलाको पनि मृत्यु भएको छ ।


वैशाख १६ गते सङ्क्रमणको पुष्टि भएकोमा शनिवार साँझ ती पुरुषको मृत्यु भएको हो । यस्तै पोखरा महाजगरपालिका–१९ का ५४ वर्षिय पुरुषको पनि मृत्यु भएको छ ।
शनिबार सङ्क्रमणको पुष्टि भएकोमा शनिवार साँझ नै उपचारको क्रममा उनको गण्डकी मेडिकल कलेजमा मृत्यु भएको हो । मृत्यु हुने अर्का एक जना रुपन्देहीको बुटवल उपमहानगरपालिका–३ का ७५ वर्षिय पुरुष रहेका छन् ।


वैशाख ९ गते सङ्क्रमणको पुष्टि भएकोमा उनलाई उपचारको लागि मेडिप्लस अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा ती पुरुषको आइतबार बिहान मृत्यु भएको हो ।
गण्डकी प्रदेशमा अहिलेसम्म २३१ जना कोरोना संक्रमितको मृत्यु भएको निर्देशनालयले बताएको छ । प्रदेशमा अहिले सबैभन्दा बढी संक्रमित कास्कीमा छन् । कास्कीमा मात्र ११ सय बढी संक्रमित रहेको निर्देशनालयले बताएको छ । प्रदेशका ११ मध्ये दुईवटा हिमाली जिल्ला मनाङ र मुस्ताङमा मात्र अहिले संक्रमित शुन्य छन् । अरु सबै जिल्लामा संक्रमित बढिरहेका छन् ।