पहिरोले १६ घर जोखिममा, लाखौंको क्षति

pahiro file photo

बैशाख १९, ओखलढुंगा,

ओखलढुंगा जिल्लाको चम्पादेवी गाउँपालिका–३ को शिल्खुबेसीमा गाउँ माथिबाट आएको पहिरोका कारण लाखौँको क्षति भएको छ भने १६ घरपरिवार जोखिममा परेका छन् ।

शनिबार दिउँसो परेको पानीसँगै पहिरो गएको हो । पहिरोका कारण ७ पशुचौपाया पुरिएर मरेको र १६ वटा घर तथा निर्माणाधीन अवस्थामा रहेको जलकन्या आधारभूत विद्यालयको भवनमा समेत क्षति पुगेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक शिव कट्टेलले जानकारी दिनुभयो ।

दिउँसोको समयमा पहिरो गएका कारण मानवीय क्षति भने हुन नपाएको पनि कट्टेलले बताउनुभयो । पहिरोका कारण अति जोखिममा परेका ५ घर परिवारलाई छिमेकीको घरमा राखिएको छ ।

केही महिनाअघि गाउँपालिकाको केन्द्र तप्केडाँडादेखि पीपलडाँडासम्म खनिएको सडककको कारण पहिरो आएको र उक्त पहिरोका कारण ५ घर अति जोखिममा रहेको बताइएको छ । ओखलढुंगाका ग्रामीण भेगमा जथाभावी खनिएका सडकका कारण पहिरो खस्दा बर्सेनि धनजनको क्षति हुने गरेको छ ।