बैशाख १७, काठमाण्डौ,
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारले गरेका सभा, सम्मेलन, शिलान्यास, उद्घाटनजस्ता क्रियाकलापले कोरोना भाइरसको सङ्क्रमण बढेको आरोप लगाएको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा भएको पत्रकार सम्मेलनमा सभापति देउवाले ओली सरकारले शिलान्यास, उद्घाटन, भिडभाड गरेको तर सङ्क्रमण रोक्ने कुनै ठोस काम नगरेको आरोपसमेत लगाउनुभयो । उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीकै कारण फेरि निषेधाज्ञा र लकडाउन गर्नुपर्ने स्थिति आएको पनि बताउनुभयो ।
फरक प्रसंगमा सभापति देउवाले एमसीसी पारित गर्ने विषयमा भ्रम सिर्जना गरिएको प्रति आपत्ति जनाउनुभएको छ । देउवाले पछिल्लो समय एमसीसी प्रस्ताव अगाडि लैजानेबारे कुनै छलफल नभएको बताउँदै आफूले एमसीसी पास गर्ने प्रकिया अगाडि नबढाएको जिकिर गर्नुभयो ।
त्यस्तै पार्टीले नयाँ सरकार गठनका लागि पहल गर्ने निर्णय गरे पनि प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव पेश गर्न संख्या नपुगेकोले अहिले केन्द्र सरकार परिवर्तनको विषयमा धेरै केहि भन्न नसक्ने देउवाले बताउनुभयो ।