बैशाख १७, कास्की
पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाबाट ३३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो ३३ जनाको मृत्युसँगै देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार २ सय ७९ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा देशभर थप ५ हजार ७ सय २७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । अहिले देशभर ३८ हजार ८ सय १३ जना सक्रिय संक्रमित रहेको र ति मध्ये ३ सय ३१ जना आईसीयूमा र १ सय १५ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले बताएको छ ।
यसैबिच
पछिल्लो समय पोखरामा कोरोना संक्रमितको संख्यामा दिनप्रतिदिन वृद्धि हुँदै गएको छ । पोखरामा आज मात्रै थप १ सय ६३ जनामा संक्रमण पुष्टी भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । त्यस्तै प्रदेशमा थप ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा ६ की ८२ वर्षीया महिला, स्याङजा अर्जुनचौतारी गाउँपालिका ५ का ६२ वर्षका पुरुष र मुस्ताङकी ७२ वर्षीया महिलाको मृत्यु भएको निर्देशनालयले जनाएको छ । योसँगै प्रदेशभर कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय २४ पुगेको छ ।
त्यस्तै २४ घण्टामा गण्डकी प्रदेशभर थप २ सय ७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । थप संक्रमितमा गोरखाका ४३ जना, बाग्लुङमा २३ जना, नवलपुरमा १७ जना स्याङजा र म्याग्दीका ९÷९ जना, पर्वतका २ जना र लमजुङमा १ जनामा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ । हाल प्रदेशभर १ हजार ५ सय ३९ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन् ।