भारतमा कोरोनाका कारण मर्नेको शव जलाउन घाटको पनि अभाव /प्रधानमन्त्री मोदीद्धारा मन्त्रिपरिषद् बैठक आह्वान

bharat

बैशाख १७, एजेन्सी,


भारतको राजधानी दिल्लीमा शव जलाउनका लागि घाटको अभाव भएको छ । कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या बढेपछि दिल्लीमा घाटको अभाव भएको बीबीसीले जनाएको छ ।
दिल्लीका सबै घाट २४ सै घण्टा चलाउँदा पनि दाहसंस्कारका लागि घण्टौँ पर्खनुपर्ने भएपछि दिल्ली प्रहरीका अधिकारीले घाटका लागि नयाँ ठाउँ खोज्न सरकारसँग माग गरेका छन् । उपचारका लागि शय्या र अक्सिजन खोज्नुपर्ने तथा मृत्युपछि घाट पाउन मुस्किल भएपछि प्रहरी अधिकारीले थप घाटको व्यवस्था गर्न आग्रह गरेका बीबीसीले जनाएको छ ।
दिल्लीमा एउटै घाटमा थुप्रै शव जलिरहेका र थुप्रै शव पालो पर्खिरहेका दुःखद दृष्यहरू अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा छाएका छन् ।
भारतमा पछिल्लो २४ घण्टामा ज्यान गुमाएका तीन हजार पाँच सय जनामध्ये दिल्लीका मात्रै चार सयभन्दा धेरै छन् । तर भारतीय सञ्चारमाध्यमले घाटमा जलेका शव हेर्दा त्यो सङ्ख्या निकै धेरै हुने बताइरहेका छन् ।
यसैबिच
कोरोना महामारी नियन्त्रण बाहिर भएपछि प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना संकट समीक्षाका लागि मन्त्रिपरिषद् बैठक आह्वान गर्नुभएको छ । भिडियो कन्फ्रेन्स मार्फत बस्न लागेको बैठकमा कोराना महामारीका नियन्त्रणका सम्बन्धमा छलफल हुने जनाइएको छ ।
यसअघि प्रधानमन्त्री मोदीले भारतीय सेनाध्यक्ष जनरल एमएम नरवणेसँग भेटवार्ता गर्नुभएको थियो । भेटवार्तापछि सेनाको स्वास्थ्यकर्मीहरूलाई विभिन्न राज्यहरूमा परिचालन गर्नुका साथै सैनिक अस्पतालमा पनि कोरोना संक्रमितको उपचार लागि प्रयोगमा ल्याउने बताइएको छ । भारतमा कोरोना संक्रमण तीव्र गतिमा फैलिने क्रम जारी छ । पछिल्लो चौबिस घण्टामा ३ लाख ८६ हजार भन्दा धेरै संक्रमित थपिएका छन् ।