बैशाख १६, पोखरा,
कोरोना भाइरसको सङ्क्रमणबाट नेपालमा थप ३५ जनाको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा २६ सहित थप ३५ जनाको कोरोना सङ्क्रमणका कारण ज्यान गएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसहित नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या तीन हजार दुई सय ४६ जना पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा झन्डै पाँच हजार अर्थात ४ हजार ९ सय २८ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । यस्तै २४ घण्टामा आठ सय ८८ जना सङ्क्रमणमुक्त भएसँगै सक्रिय संक्रमितको संख्या ३४ हजार १ सय १७ पुगेको छ । त्यसमध्ये ३ सय ३७ जना आईसीयूमा र १ सय ७ जना भेन्टिलेटर रहेको मन्त्रालयले बताएको छ ।
कोरोनाका कारण एकै दिन ३५ जनाको ज्यान गएको अहिलेसम्मकै धेरै हो ।
यसअघि गएको कात्तिक १९ गते कोरोनाका कारण एकै दिन ३० जनाको ज्यान गएको स्वास्थ्य मन्त्रालयको तथ्याङ्क छ । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले पछिल्लो समय कोरोना भाइरसको सङ्क्रमणसँगै मृत्युदर पनि बढेको बताउनुभयो । अहिलेकै अवस्थालाई हेर्ने हो भने अझै सङ्क्रमणदर बढ्ने सम्भावना रहेकाले जनस्वास्थ्यका मापदण्ड पालना गर्न÷गराउन उहाँको आग्रह छ ।
यसैबिच
पछिल्लो २४ घण्टामा पोखरा महानगरमा ७९ जना कोरोना संक्रमित थपिएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयद्वारा जारी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा कास्कीका २५३ जनाको नमुना परीक्षण गर्दा पोखरा महानगरका ७९ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो । आज थपिएका संगै कास्कीमा कोरोना संक्रमितको संख्या ९ हजार ५ सय ५९ पुगेको छ । यस्तै कास्की बाहेक गण्डकीका अन्य जिल्लामा तनहुँमा ५ जना, गोरखामा १ जना, लमजुङमा २ जना, नवलपुरमा १५ जना, स्याङ्गजामा ४ जना, पर्वतमा १ जना, बाग्लुङमा ४ जना र म्याग्दी जिल्लाका थप १ जना गरी गण्डकीमा थप ११२ जनामा कोरोना पुष्टि भएको छ । आज पुष्टि भएकासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या १८ हजार ३ सय ७१ पुगेको छ, जसमा सक्रिय संक्रमितको संख्या १ हजार ३४० पुगेको छ । पछिल्लो २४ घण्टामा गण्डकीबाट ५९ जना कोरोनामुक्त भएका छन् । यो संगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्ग्या १६ हजार ८ सय १० पुगेको छ । गत २४ घण्टामा कास्कीका थप दुई जनाको मृत्यु पुष्टि भएको छ । मृतक पोखरा महानगरपालिका –१४ निवासी ४३ वर्षीय पुरुष र पोखरा –७ निवासी ८९ वर्षीया महिला रहेकी छन् । आज मृत्यु पुष्टि भएकासंगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २१९ पुगेको निर्देशनालयले जनाएको छ ।