युवा तथा खेलकुद मन्त्री बने दीपक मनाङे (को हुन् मनाङे ?)

dipak managge

बैशाख १६, कास्की,

गण्डकी प्रदेशको खेलकुद मन्त्रीमा नियुक्त भएका दीपक मनाङे नामले चिनिने राजीव गुरुङले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । बिहीबारै मन्त्रीमा नियुक्त भएका गुरुङलाई प्रदेश प्रमुख अमिक शेरचनले शपथ गराएका हुन् । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बिहीबार मन्त्रिपरिषद् विस्तार गर्दै मनाङेलाई मन्त्री नियुक्त गरेका थिए । नरदेवी पुनले सम्हाल्दै आएको सामाजिक विकास मन्त्रालयलाई फुटाएर गुरुङलाई मन्त्री बनाइएको हो ।
२०७४ सालको मंसिर १० गते सम्पन्न प्रदेश सभा निर्वाचनमा राजीव स्वतन्त्र उम्मेदवार थिए । तत्कालीन एमालेको समर्थनमा उनले निर्वाचन जितेका थिए । मनाङको प्रदेश (ख) बाट प्रदेशसभामा एक हजार चार सय १० मत ल्याएर स्वतन्त्र उम्मेदवारमा विजयी भएका हुन् । उनका प्रतिस्पर्धी कर्म गुरुङले एक हजार २० मत ल्याएका थिए ।

निर्वाचित भए पनि अरु प्रदेश सभा सांसदले सँगै उनले सपथ लिन पाएका थिएनन् । बरु प्रहरीले उनलाई ज्यान मार्ने उद्योग सम्बन्धी मुद्दामा २०७५ वैशाख वैशाख ६ गते पक्रेको थियो । १० वर्षभन्दा कम सजाय हुने मुद्दा बाहिर बसेरै लड्न मिल्ने व्यवस्था अुनसार २०७५ पुस ६ गते उनी छुटेका थिए ।

उनका मुद्यामामिलाका घटना कारण निर्वाचन सम्पन्न भएको १४ महिना पछिमात्र २०७५ माघ १४ गतेमात्रै उनलाई प्रदेश सभाका सभामुख नेत्रनाथ अधिकारीले प्रदेश सभा सदस्यको सपथ दिलाएका थिए ।

प्रदेश सभाको अर्थ तथा विकास समिति सदस्यसमेत बनेका राजीवले २०७७ असोज ८ गते उक्त समितिबाट राजीनामा गरेका थिए । सुरुआती दिनमा राप्रपासँग निकट उनी कुनै बेला कांग्रेससमेत भएका थिए । गुरुङ २०७४ असोजमा एकाएक एमाले छिरेका थिए । तर एमालेबाट टिकट नपाएपछि उनी स्वतन्त्र हैसियतमा उम्मेदवार बने, पछि एमालेले समर्थन ग¥यो, अनि चुनाव जिते । २०७६ असार २० गते तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रवेश गरेका थिए । तर नेकपाले पार्टी प्रवेश गराएको पत्र संसदमा नदिएकैले राजीवले आफूलाई स्वतन्त्र बताउँदै आएका थिए ।