बैशाख १५, पोखरा,
नेपालमा कोरोना भाइरसको सक्रिय सङ्क्रमितको सङ्ख्या ३० हजार नाघेको छ । पछिल्लो २४ घण्टामा ४ हजार ८ सय ९७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या ३० हजार नौ सय दुई पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको सङ्ख्या तीन लाख १२ हजार ६ सय ९९ पुगेको छ ।
पछिल्लो २४ घण्टामा सात सय ७३ जना कोरोना सङ्क्रमित निको भएसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ७९ हजार दुई सय ७९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा १० जनासहित थप १७ जनाको सङ्क्रमणबाट ज्यान गएको छ । नेपालमा अहिलेसम्म कोरोना सङ्क्रमणबाट तीन हजार दुई सय ११ जनाले ज्यान गुमाएका छन् ।
यसैबिच पछिल्लो २४ घण्टामा पोखराका १ सय ४९ जना सहित कास्कीमा १७३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ भने गण्डकी प्रदेशमा थप ३ सय ८ जना कोरोना संक्रमित थपिएका छन् ।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार गण्डकीका १ हजार १८ जनामा गरिको परीक्षणमा थप ३ सय ८ जनाको रिपोर्ट पोजेटिभ आएको हो । गण्डकी प्रदेशमा आज थपिएका संक्रमितहरु कास्कीका १ सय ७३ जना सहित गोरखाका ४६ जना, स्याङ्गजाका ४१ जना, बाग्लुङका १७ जना, म्याग्दीका ११ जना, तनहुँका ७ जना, नवलपुरका ७ जना, पर्वतका ५ जना, र मुस्ताङको १ जना रहेका छन् ।
आज थपिएकासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या १८ हजार २ सय ५९ पुगेको छ, जसमा सक्रिय संक्रमितको संख्या १ हजार २ सय ८९ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा गण्डकीमा थप दुई जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यो सँगै गण्डकीमा कोरोना संक्रमणकै कारण ज्यान गुमाउनेको संख्या २ सय १९ पुगेको निर्देशनालयले जनाएको छ ।