गण्डकी प्रदेश सभा : सत्तापक्षद्धारा नै अवरोध

gandaki sarkar

सांसद मनाङ्गेले पनि अविस्वास प्रस्तावमा मतदान गर्ने


बैशाख १४, कास्की,


गण्डकी प्रदेश सभाको मंगलबारको बैठक नेकपा एमालेकै सांसदले अवरुद्ध गरेका छन् । प्रदेश सभा सदस्यहरुको पिसिआर परीक्षण नगरी बैठक सञ्चालन गरिएको भन्दै एमालेले विरोध जनाएको हो ।
अवरोधपछि प्रदेश सभा बैठक केहि समयकालागि स्थगित भएको थियो । बैठकको सुरुमै बोलेका एमाले सांसद्ले आधाजसो सांसद्हरुले कोरोनाको दोस्रो खोप पनि नलगाएको, कतिपय सांसद्हरु विभिन्न खालका बिरामी भएको र उनीहरु जोखिममा रहेको बताएका थिए । महामारी फैलियो भने त्यसको जिम्मेवारी को हुने? भन्ने प्रश्न उनीहरुले उठाएका थिए । एमालेका तर्फबाट बोल्ने सांसद्ले आफूहरुले हिजो गरेको ध्यानाकर्षणपछि पनि कुनै रुलिङ नभएको भन्दै असन्तुष्टि जनाएका थिए ।
एमाले सांसद्हरुले सिटबाट उठेर विरोध जनाएका थिए । सभामुख नेत्रनाथ अधिकारीले आजको कार्यसूची सबैको सहमतिमा तय गरिएकाले बसेर सहयोग गर्न अनुरोध गरेका थिए । उनले सहयोग गर्न अनुरोध गरेका भए पनि एमाले सांसद्हरुले आफ्नो विरोध कायमै राखेका थिए ।
मुख्यमन्त्री गुरुङ विरुद्ध प्रदेश सभा सचिवालयमा गत वैशाख २ गते अविश्वास प्रस्ताव दर्ता गरिएको थियो । कांग्रेस, माओवादी केन्द्र र जसपाका २८ जना सांसद्ले दर्ता गरेको सो प्रस्ताव सोमबारको संसद् बैठकमा टेबल भएर छलफल प्रारम्भ भएको छ ।
अविश्वास प्रस्तावमाथि आज पनि छलफल हुने र भोली मुख्यमन्त्रीले जवाफ दिने र मतदान गर्ने तयारी रहेको छ । हिजो पनि बैठकको सुरुवातमै एमाले सांसद्हरुले पीसीआर परीक्षण नगरी बैठक सञ्चालन गरिएकोमा असन्तुष्टि व्यक्त गरेका थिए ।

यसैबिच
नेकपा एमालेमा प्रवेश गरेका गण्डकी प्रदेशका प्रदेश सांसद दिपक मनाङ्गेले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको विपक्षमा मतदान गर्ने भएका छन् । मुख्यमन्त्री गुरुङविरुद्ध नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी मिलेर दर्ता गराएको अविश्वास प्रस्तावको पक्षमा भोट हाल्ने उनले बताए ।



प्रदेश सांसद दिपक मनाङ्गे


वुधबार मुख्यमन्त्री गुरुङविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमा भोटिङ हुदाँ विपक्षमा उभिने मनाङ्गेले बताए । मुख्यमन्त्रीको विपक्षीमा उभिने भएपछि उनले सोमबार नै प्रदेश सभा सचिवालयमा स्वतन्त्र सांसदको हैसियत माग गर्दै निवेदन पनि दिएका छन् ।
गुरुङको सरकार ढल्ने निश्चित देखेपछि यसअघि एमालेको लहरमा बस्दै आएका उनी एकाएक स्वतन्त्रको हैसियत माग्दै निवेदन दिन पुगेका थिए । एमाले मनाङ्गेको भोट आफ्नो पक्षमा भएको भन्दै आएको अवस्थामा उनले यस्तो निर्णय गरेका हुन् ।