ठुलठूला भौतिक पूर्वाधार निर्माण नगरी देश विकास सम्भव छैन : मन्त्री नेम्वाङ

basanta-nembang mantri

बैशाख ११, काठमाण्डौ,

भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले देशको समृद्धिका लागि ठुलठूला भौतिक पूर्वाधार निर्माण गर्ने कार्यलाई तीव्रता दिनुपर्ने आवश्यकता रहेको बताउनुभएको छ ।

आज (शनिबार) नेपाल इन्जिनियरिङ परिषद्को नयाँ कार्यालय भवन शिलान्यास गर्दै मन्त्री नेम्वाङले ठुलठूला भौतिक पूर्वाधार निर्माण नगरी देश विकास सम्भव नभएको बताउनुभएको हो । नेपाल सरकारले बोकेको राष्ट्रिय आकांक्षालाई पूरा गर्न, समृद्धि र विकास प्राप्तिका लागि इन्जिनियरिङ क्षेत्रको महत्वपूर्ण भूमिका रहेको पनि बताउनुभयो ।

अहिले देशमा नयाँनयाँ सुरुङमाग, रेलमार्ग, एयरपोर्ट, सिँचाई अयोजना निर्माण हुने चरणमा रहेकोले त्यस्ता पूर्वाधार निर्माणका लागि इन्जिनियरिङ क्षेत्रले आफूलाई विकास गर्नुपर्ने पनि बताउनुभयो ।

यस्तै उहाँले देशमा निर्माण हुने ठुलठूला भौतिक पूर्वाधारको निर्माणलाई तीव्रता दिन र त्यसको निर्माणमा सफलता प्राप्त गर्न इन्जिनियरहरु बिना सम्भव नभएको पनि बताउनुभयो ।