त्रिदेशीय ट्वान्टी–ट्वान्टी क्रिकेट श्रृङ्खलामा नेपालद्धारा मलेसिया ६९ रनले पराजित

nepal

बैशाख ९, काठमाण्डौ


त्रिदेशीय ट्वान्टी–ट्वान्टी क्रिकेट श्रृङ्खलामा नेपालले मलेसियालाई ६९ रनले हराएको छ । त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको दुई सय १८ रनको लक्ष्य पछ्याएको मलेसियाले १९ ओभर एक बलमा अलआउट हुँदै एक सय ४८ रन मात्रै बनाउन सक्यो ।
यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा सात विकेट गुमाएर २ सय १७ रन बनाएको थियो । नेपालका करण केसीले १३ बलमा ७ छक्कासहित ४५ रन बनाए । यस्तै आशिफ शेखले ४२, ज्ञानेन्द्र मल्लले ४१, दीपेन्द्रसिंह ऐरीले ३३, कुशल भुर्तेलले १६, विनोद भण्डारीले आठ र सोमपाल कामीले दुई रन बनाए । कुशल मल्ल १९ रनमा नटआउट रहे ।
नेपालले आज बनाएको दुई सय १७ रन अन्तर्राष्ट्रिय टी–ट्वान्टी क्रिकेटकै दोस्रो धेरै रन हो । यसअघि सन् २०१९ को साग गेममा नेपालले भुटानसँगको खेलमा बनाएको दुई सय ३६ रनको स्कोर अहिलेसम्मकै धेरै रहेको छ । यसअघि नै प्रतियोगिताको फाइनलमा पुगिसकेको नेपाल शीर्ष स्थानमा रहेको छ ।
आजको खेलबाट कमलसिंह ऐरीले टी ट्वान्टीमा डेब्यु गरेका छन् भने सन्दीप लामिछानेले एक सय खेल पूरा गरेका छन् । उनी टी ट्वान्टी खेलमा सतक बनाउने पहिलो नेपाली खेलाडी बनेका छन् । नेपालले अघिल्लो खेलमा मलेसियालाई ९ विकेटले हराएको थियो । उपाधिका लागि नेपाल र नेदरल्याण्ड्स बिचको खेल पर्सि ११ गते हुनेछ ।