गण्डकी प्रदेशका १ सय ४३ सहित देशभर थप २ हजार ३ सय ५१ जनामा कोरोना संक्रमण

corona

बैशाख ८, कास्की,

नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ३ सय ५१ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम अनुसार पीसीआर विधिबाट २ हजार २२० र एन्टिजेन विधिबाट १३१ गरी जम्मा २३५१ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै देशभर सक्रिय संक्रमितको संख्या १० हजार ५८२ पुगेको छ । नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या १० हजार पाँच सय ८२ जना पुगेको मन्त्रालयले जनाएको छ ।
यसैबिच
कास्की जिल्लाका ७९ जना सहित गण्डकीमा थप १ सय ४३ जनामा कोरोना पुष्टि भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कास्कीका ३ सय ५३ जनाको नमुना परीक्षण गर्दा ७९ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो । आज कास्कीमा कोरोना पुष्टि हुनेहरु मध्ये अन्नपूर्ण गाउँपालिकाका १ जना छन् भने, अन्य सबै ७८ संक्रमित पोखरा महानगरपालिकाका विभिन्न वडाका रहेका छन् ।

यस्तै गण्डकी प्रदेश अन्तर्गत बाग्लुङका थप ५० जना, तनहुँका ४ जना, स्याङ्गजाका ६, गोरखाको १ जना र पर्वत जिल्लाका ३ जनामा कोरोना पुष्टि भएको छ । आज पुष्टि भएकासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या १७ हजार ४०६ पुगेको छ । जसमा सक्रिय संक्रमित ६ सय ६४ जना रहेका छन् ।

कोरोना संक्रमणकै कारण गण्डकीमा बुधबार थप दुई जनाको मृत्यु पुष्टि भएको छ । आज पुष्टि भएका दुई मृतकसंगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २११ पुगेको निर्देशनालयले जनाएको छ ।
यसैबिच
नेपालमा कोरोना भाइरसको सङ्क्रमण दर अत्यधिक बढेकाले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आग्रह गरेको छ ।

सरकारको स्रोत, साधन र संरचनाले थेग्न नसक्ने गरी कोरोना सङ्क्रमण दर बढ्न सक्ने आकलन गरिएकाले अत्यावश्यकबाहेकका काममा घरबाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आग्रह गर्नुभयो । उहाँले पछिल्ला दिनको तथ्याङ्क हेर्दा प्रत्येक चार दिनमा सङ्क्रमण दर दोब्बरले बढेको बताउनुभयो ।