चैत ३०, कास्की,
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अविश्वासको प्रस्तावमा हस्तारक्षर गरेर सरकार परिवर्तन गर्न सघाउने बताइसकेपछि अब गण्डकी प्रदेशको दोस्रो मुख्यमन्त्री को होला भन्ने चर्चा हुन थालेको छ । गण्डकी प्रदेश सभामा नेपाली कांग्रेस १५, माओवादी केन्द्र १२ र जनता समाजवादी २ सहित मुख्यमन्त्री गुरुङ नेतृत्वको सरकारको विपक्षमा २९ सांसद पुगेका छन् । प्रदेश सभामा एमाले पक्षका १ स्वतन्त्र सहित २८ सांसद र राष्ट्रिय जनमोर्चाका ३ सांसद छन् । ६० सदस्यीय प्रदेश सभामा सरकार बनाउन या बचाउन ३१ सांसद चाहिन्छ । यस्तो अवस्थामा सत्ता समीकरणलाई साथ दिएको राष्ट्रिय जनमोर्चाले समर्थन फिर्ता लिने कुरा केसीले बताए पछि राजनीतिक वृतमा अब मुख्य मन्त्री को बन्ने भन्ने कुरा चर्चामा रहेको छ । यसैबिच गण्डकी प्रदेशमा माओवादी केन्द्रबाट सरकारमा सहभागी भएका २ जना मन्त्रीले राजीनामा दिएपछि सत्ताको खेल सुरु भएको छ । कानुनमन्त्रीबाट राजिनामा दिनुभएका हरि बहादुर चुमान मुख्यमन्त्री बन्ने दौडमा रहनुभएको स्रोतले बताएको छ । चुमान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न केही दिन अगाडि काठमाडौं गएको खुलासा भएको हो । यता गृहमन्त्री रामबहादुर थापा बादल पोखरा आउनुभएको छ । प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको पद जोगाउन सकिन्छ कि भन्ने उद्देश्यका साथ गृहमन्त्री बादल पोखरा आएको स्रोतको दाबि रहेको छ । पुर्व बादल समुह फकाउने योजना पनि असफल भएपछि गण्डकी प्रदेशमा नेकपा एमालेको मुख्यमन्त्री पद गुम्ने लगभग निश्चित भएको छ ।