चैत ३०, काठमाण्डौ,
कोरोना सङ्क्रमणको जोखिममा विद्यालय सञ्चालन गर्ने कि बन्द गर्ने भन्ने विषयमा शिक्षा मन्त्रालय र सरोकारवालाहरुबीच भएको छलफल निष्कर्ष विहीन भएको छ । शिक्षा मन्त्रालयमा आज शिक्षा मन्त्रालयसहित अभिभावक महासङ्घ, प्याब्सन, एनप्याब्सन लगायतसँग छलफल भए पनि कुनै ठोस निष्कर्ष ननिस्किएको अभिभावक महासङ्घका अध्यक्ष सुप्रभात भण्डारीले बताउनुभयो । उहाँका अनुसार छलफलमा विद्यालयलाई सुरक्षित तरिकाले चलाउने विषयमा छलफल भएको छ । त्यस्तै बैठकमा अभिभावकहरुले जोखिमयुक्त क्षेत्रका विद्यालय बन्द गर्नु पर्ने माग गरेका छन् ।
निजी विद्यालय सञ्चालकले भने अहिले नै विद्यालय बन्द गर्नु नपर्ने धारणा राखेका छन् । स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर विद्यालय खोल्नु पर्ने उनीहरुको जोड छ । स्वास्थ्य मन्त्रालयले बालबालिकामा कोरोनाको जोखिम बढेको भन्दै विद्यालय बन्द गर्न सिफारिस गरेको छ । तर, निजी विद्यालयले भने यसको विरोध गर्दै आएका छन् । नेपालमा पछिल्लो दुई हप्तामा १८ वर्षमुनिका दुई सयभन्दा धेरै जना सङ्क्रमित भएका छन् ।