चैत ३०, कास्की,
यो वर्ष नेपालमा इतिहासकै धेरै डढेलो लागेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गएको कात्तिक महिनादेखि हिजोसम्म देशभरका ४ हजारभन्दा धेरै ठाउँमा डढेलो लागेको छ । यो सङ्ख्या नेपालमा डढेलोको रेकर्ड राख्न थालेयताकै सबैभन्दा धेरै भएको प्राधिकरणका उपसचिव सुन्दर शर्माले जानकारी दिनुभयो । यसपटक सात प्रदेशका ७७ वटै जिल्लामा डढेलो लागेको छ । डढेलोबाट पाँच जनाको ज्यान गएको छ भने हजारौँ पशुपक्षी तथा हजारौँ हेक्टर जमिनमा क्षति पुगेको छ ।
६० प्रतिशत ठाउँमा मान्छेले जानाजान डढेलो लगाएको, ३० प्रतिशत ठाउँमा लापरबाहीका कारण र १० प्रतिशत ठाउँमा सतर्कता अपनाउँदा अपनाउँदै पनि डढेलो लाग्ने गरेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले बताउनुभयो । नयाँ घाँस पलाउने आशामा नागरिकले डढेलो लगाउँदा त्यसले ठूलो क्षति निम्त्याइरहेको पोखरेलको भनाइ छ ।
यसपटकको इतिहासकै धेरै डढेलो लाग्नुमा मानवीय लापरबाही देखिएकाले जानाजान डढेलो लगाउनेलाई तत्कालै कारबाही गर्ने पनि उहाँले चेतावनी दिनुभयो । सहर नजिकै र मानवीय तथा भौतिक क्षति धेरै हुने ठाउँमा हेलिकप्टरबाट पानी खन्याएर डढेलो नियन्त्रणको अभ्यास सुरु गरिएको र यसलाई निरन्तरता दिइने पनि सीईओ पोखरेलले जानकारी दिनुभयो ।