गण्डकी प्रदेशमा रिक्त दुई मन्त्रालय मुख्यमन्त्री गुरुङ र भौतिक पूर्वाधार विकास मन्त्री बस्नेतले सम्हाल्ने

gandaki sarkar

चैत २७, कास्की,

माओवादी केन्द्रबाट गण्डकी प्रदेश सरकारमा सहभागी भएका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सम्हाल्ने भएका छन् ।

गत बुधबार गण्डकी प्रदेशमा माओवादीबाट सरकारमा सहभागी भएका आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमान र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापाले राजीनामा दिएपछि उक्त पद रिक्त थियो । रिक्त रहेको मन्त्रालयमध्ये मुख्यमन्त्री गुरुङले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी लिएका हुन् ।

त्यस्तै रिक्त रहेको अर्को मन्त्रालय तत्कालका लागि गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले सम्हाल्ने भएका छन् । उनले आजै पदभार ग्रहण गरेका छन् । एमालेको तर्फबाट मन्त्री बस्नेतले गोरखाबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । आफ्ना २ जना मन्त्रीले राजीनामा दिए पनि माओवादी केन्द्रले गण्डकी प्रदेशलाई दिएको समर्थन फिर्ता लिएको छैन ।