चैत २७, काठमाण्डौँ
विद्यालय बन्द गरेर अनलाइन कक्षा सञ्चालनका लागि स्वास्थ्य मन्त्रालयले शिक्षा मन्त्रालयसंग आग्रह गरेको छ । पछिल्लो पटक भेटिएका कोरोना भाइरस संक्रमित विद्यार्थी समेत रहेकाले विद्यालय बन्द गरेर अनलाइक कक्षा सञ्चालन गर्न शिक्षा मन्त्रालय आग्रह गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.समीर अधिकारीले बताउनुभएको छ ।
पछिल्लो समय भेटिएका कोरोना भाइरस संक्रमितमध्ये १६ प्रतिशत बालबालिकाहरु रहेकोले विद्यालय कोरोनाको हव बन्न सक्ने भन्दै सो आग्रह गरिएको अधिकारीको भनाई छ ।
यता स्वास्थ्य मन्त्री हृदयश त्रिपाठीले समेत हालको अवस्था तथा बालबालिकालाई जोगाउनका लागि विद्यालय पूर्ण रुपमा अनलाइन माध्यममा जानुपर्नेमा जोड दिनुभएको छ । पत्रकारलाई दिएको अन्तरवार्ताका क्रममा स्वास्थ्यमन्त्री त्रिपाठीले विद्यालय तथा कलेज बन्द गरेर अनलाइन कक्षामा जानुपर्ने अवस्था आइसकेको र यसलाई ढिलो गर्न नहुने बताउनुभएको छ ।
पहिलेको जस्तो लकडाउन गर्नुपर्ने अवस्था नआओस् भन्ने उद्देश्यसहित अनलाइन कक्षामा जानुपर्नेमा आफूले जोड दिइरहेको उहाको भनाई छ । यदि आग्रह नमानेको अवस्थामा केही कठोर निर्णय लिन बाध्य हुनुपर्ने समेत मन्त्री त्रिपाठीले चेतावनी दिनुभएको छ ।