बायु प्रदूषण उच्च विन्दुमा : चैतमा पनि चिसो बढ्यो

mausam sanket

चैत २३, कास्की,

पोखरा सहित देशभरि वायु प्रदूषण बढेकाले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन जनस्वास्थ्य विज्ञले सुझाव दिएका छन् । वायु प्रदूषणले स्वासप्रश्वासमा कठिनाइ लगायत विविध स्वास्थ्य समस्या देखा पर्न सक्ने भएकाले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन र निस्कनै पर्ने अवस्था भए मास्कको प्रयोग गर्न जनस्वास्थ्य विज्ञले आग्रह गरेका छन् ।

स्वास्थ्य अनुसन्धान परिषद्का वरिष्ठ अनुसन्धान अधिकृत डाक्टर मेघनाथ धिमालले प्रदूषणका कारण फोक्सोमा क्यान्सर, मुटुसम्बन्धी रोग, मस्तिष्कघात, हृदयघात जस्ता समस्या देखिने भएकाले बाहिर ननिस्कन अनुरोध गर्नुभयो । यसैबिच कास्कीको पोखरा सहित देशका धेरै ठाउँमा बिहान बेलुका चिसो बढ्न थालेको छ ।

चैतको सुरुमा बिहान बेलुकाको तापक्रम बढे पनि फेरि चिसो बढेको हो । वायुमण्डलमा तुवाँलो र प्रदूषण बढेका कारण चिसो पनि बढेको मौसमविद् मिनकुमार अर्यालले बताउनुभयो । उहाँका अनुसार तुवाँलो र प्रदूषणले घाम जमिनको सतहमा आउन नपाएकाले जमिन तात्न नपाएर चिसो बढेको हो । पोखरामा आजविहानै देखि अहिलेसम्म घामलाग्न सकेको छैन् । आकासमा तुवाँलो देखिएको छ । देशका विभिन्न ठाउँमा लागेको आगो निभाउन नसक्दासम्म प्रदूषण कायमै रहने मौसविद अर्यालले बताउनुभयो ।