पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशका २४ सहित थप २ सय ६६ मा कोरोना संक्रमण, ४ जनाको मृत्यु

helt news

चैत २३, कास्की


कोरोना भाइरस सङ्क्रमणका कारण नेपालमा थप चार जनाको ज्यान गएको छ । सङ्क्रमणका कारण पछिल्लो २४ घण्टामा दुई जनाको ज्यान गएको र थप दुई जनाको विवरण प्राप्त भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । नेपालमा अहिलेसम्म कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या तीन हजार ३६ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा थप दुई सय ६६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । ४५ सय ३६ जनाको पीसीआर परीक्षण गर्दा दुई सय ६६ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै अहिलेसम्म कोरोना पोजेटिभ हुनेको सङ्ख्या दुई लाख ७८ हजार दुई सय १० पुगेको छ । यस्तै थप एक सय दुई जना निको भएसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ७३ हजार तीन सय ४२ पुगेको छ । अहिले नेपालमा १८ सय ३२ जना सक्रिय सङ्क्रमित रहेका छन् ।
यसैबिच पछिल्लो चौविसघण्टामा पोखराका १८ जना सहित गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार थपिएका संक्रमितमध्ये २२ जना कास्की जिल्लाका रहेका छन् । जसमध्ये १८ जना पोखरा महानगरपालिकाका रहेका छन् भने रुपा र माछापुच्छ«े गाउँपालिकामा १,१ जना संक्रमति थपिएका छन् । त्यस्तै म्याग्दी र पर्वतमा पनि थप एकजनामा संक्रमण पुष्टि भएको छ ।