चैत १८, कास्की,
पछिल्लो २४ घण्टामा थप एक सय ६२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । ३९ सय १५ जनाको पीसीआर परीक्षण गर्दा एक सय ६२ जनामा सङ्क्रमण देखिएको र अहिलेसम्म दुई लाख ७७ हजार तीन सय नौ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यस्तै थप ५९ जना निको भएसँगै अहिलेसम्म दुई लाख ७२ हजार सात सय ८६ जना सङ्क्रमणमुक्त भएका छन् । नेपालमा अहिले १४ सय ९३ जना सक्रिय सङ्क्रमित रहेका छन् ।
कोरोना सङ्क्रमणका कारण पछिल्लो २४ घन्टामा कसैको पनि ज्यान नगएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपालमा कोरोना सङ्क्रमणका कारण अहिलेसम्म तीन हजार तीस जनाको ज्यान गएको छ ।
यसैबिच पोखरामा २१ जना सहित कास्की जिल्लामा थप २३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले उपलब्ध गराएको पछिल्लो अध्यावधिक विवरण अनुसार लाइफ केयर एण्ड डायग्नोस्टिक प्रालि पोखरा तथा क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणका क्रममा कास्कीमा थप २३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । त्यस्तै प्रदेश भित्रको
म्याग्दीमा १२ जना, पर्वतमा १ जना नयाँ संक्रमित गरि गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या १६ हजार ५ सय ९७ पुगेको छ ।