नेपालमा पुनः लकडाउनको हल्ला, “अहिले नै लकडाउनको योजना छैन “: मन्त्रालय

helt news

चैत १०, पोखरा ।


छिमेकि देश भारतका विभिन्न राज्यमा पुनः लकडाउन भएसँगै नेपालमा पनि फेरी लकडाउन हुनसक्ने भन्दै हल्ला चलेपछि तत्काल लकडाउन गर्ने कुनै योजना नरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालय अन्तर्गतको कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले भारतमा बढेको कोरोना भाइरस संक्रमणलाई ध्यानमा राखि नेपालमा त्यसको जोखिम हुन नदिन विभिन्न उपाए अपनाउने तयारी भएको तर तत्काल लकडाउनको योजना नरहेको जनाएको हो ।
प्रदेश १ को विराटनगरमा भारतबाट नेपाल आएका ४ जनालाई गत शनिबार कोरोना संक्रमण पुष्टि भए पछि स्वास्थ्य मन्त्रालयले आइतबारदेखि नै अन्य सीमा नाकाहरुमा समेत कडाई गर्न निर्देशन दिईसकेको छ । भारतबाट नेपाल आउनेहरुको स्वास्थ्य जाँच गरेर मात्र नेपाल प्रवेश गर्न दिने, प्रत्येक नाकामा हेल्थ डेस्क सँगै क्वारेन्टिनको व्यवस्था मिलाउने लगायतको कार्य गर्न स्वास्थ्य मन्त्रालयले सबै प्रदेशका स्वास्थ्य निर्देशनालयलाई निर्देशन दिइसकेको छ । सिसिएमसीका सदस्य सागर दाहालका अनुसार देशका सबै स्थानीय तहलाई पनि स्वास्थ्य जाँचमा कडाई गर्न मन्त्रालयले भनेको छ ।
सानो गल्तिले पनि कोरोना संक्रमणको दोश्रो लहर सुरु हुनसक्ने भएकोले सबैले मन्त्रालयले जारी गरेको स्वास्थ्य मापदण्ड पालना गर्न पनि दाहालले आग्रह गर्नुभएको छ । नेपालीले कोरोनालाई सामान्य जस्तै मान्न थालेको भन्दै स्वास्थ्य जस्तो संवेदनसिल विषयलाई सामान्य मान्न नहुनेमा उहाँको जोड रहेको छ ।