खास्टेताल महोत्सवको तयारी अन्तिम चरणमा : ‘खास्टे जाँउ माछा खाँउ’

Press Meet

चैत ९, पोखरा ।

कास्कीको पोखरामा आयोजना हुन लागेको लेखनाथ–खास्टेताल महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । पोखरा महानगरपालिका–२६ स्थित खास्टेतालको संरक्षण गर्ने उद्देश्यले चैत १२ देखि २२ गतेसम्म हुने महोत्सवको तयारी अन्तिम चरणमा पुगेको आयोजक खास्टे तथा न्यूरेनी ताल संरक्षण विकास समितिले जानकारी दिएको हो ।
राष्ट्रिय संगीतकर्मी संघको ब्यवस्थापनमा हुने महोत्सव खास्टे र न्यूरेनी ताल किनारमा हुने आयोजकले जनाएको छ । कोरोना भाइरस संक्रमणको त्रासले सरकारले सभा, सम्मेलन, जमघट, मेला, महोत्सव नगर्न अपिल गरेपनि आफुहरुले सरकारले तोकेको मापदण्ड पूरा गरेर महोत्सव गर्न लागेको मेला संयोजक हरिप्रसाद अधिकारील बताउनुभयो ।
‘खास्टे जाँउ माछा खाँउ’ भन्ने मूल नारासहित हुने महोत्सवको मूख्य उद्देश्य खास्टे र न्यूरेनी तालको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धन गर्ने रहेको खास्टे तथा न्यूरेनी ताल संरक्षण विकास समितिका अध्यक्ष अधिकारीले बताउनुभयो ।
महोत्सवमा ११० स्टल रहने जनाइएको छ । जसमा स्थानिय जातका माछाका स्टलहरुदेखि स्थानिय कृषि उत्पादनहरु, खाद्य पदार्थ, लत्ता कपडा, फेन्सी, जुत्ता, चप्पल लगायतका स्टलहरु रहने संयोजक अधिकारीले बताउनुभयो । पोखरामै रहेको र सुन्दर ताल रहेरपनि फेवाताल, बेगनास ताल र रुपा तालको ओझेलमा परेको खास्टे ताल मानवीय र प्राकृतिक अतिक्रमणको चपेटामा समेत पर्दै आएको छ ।