राष्ट्रपति भण्डारी बङ्गलादेश प्रस्थान : यि हुन् त्यहाँको कार्यक्रम

Bidhya-bhandari-bangalades_Prasthaan

चैत ९, पोखरा,


राष्ट्रपति विद्यादेवी भण्डारी दुई दिने भ्रमणका लागि बङ्गलादेश प्रस्थान गर्नुभएको छ । उहाँ बिहान ८ बजेर ४० मिनेटमा नेपाल एअरलाइन्सको उडानमार्फत ढाका प्रस्थान गर्नुभएको हो ।
राष्ट्रपति भण्डारीको बिदाइका लागि उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्निप्रसाद सापकोटा, उपप्रधानमन्त्री ईश्वर पोखरेललगायत उच्च पदस्थ अधिकारी त्रिभुवन विमानस्थलमा पुग्नुभएको थियो । बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको निमन्त्रणामा राष्ट्रपति भण्डारी ढाका जानुभएको हो ।
बिहान ढाकामा उहाँलाई बङ्गलादेशका राष्ट्रपति अब्दुल हमिद र बङ्गलादेशका लागि नेपाली राजदूत डाक्टर वंशीधर मिश्रले स्वागत गर्नु भएको बताईएको छ ।
राष्ट्रपति भण्डारीलाई ‘गार्ड अफ अनर’ले सम्मान गरिनेछ । आजै राष्ट्रपति भण्डारी र समकक्षी हमिदसँग दुईपक्षीय भेटवार्ता हुनेछ । त्यस्तै प्रधानमन्त्री शेख हसिनालगायतले राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेट गर्नुुहुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
भ्रमण दलमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, राष्ट्रपतिको कार्यालयका सचिव डा हरि पौडेललगायत ५४ जना रहेका छन् । राष्ट्रपति भण्डारीको भ्रमणका पर्यटन र संस्कृति आदानप्रदानसँग सम्बन्धित केहि विषय, पशुपन्क्षी र बालीनालीमा प्रयोग हुने विषादी तथा बन्दरगाह, रेल वे र नेपाल–बंगलादेश यातायात सञ्चालनका विषयमा पनि सम्झौतापत्रमा हस्ताक्षर हुनेछ ।