कोरोना संक्रमणदर बढ्दै गएपछि सभा जुलुस नगर्न सरकारको आग्रह, आज थप ७७ जनामा संक्रमण पुष्टि

corona

चैत ८, पोखरा ।


सरकारले छिमेकी मुलुकहरूमा कोरोना संक्रमणदर बढ्दै गएपछि देशभर सभा, जुलुस, ¥याली, भेला जस्ता सामूहिक जमघट नगर्न आग्रह गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार प्रेस विज्ञप्ति जारी गरेर यस्तो आग्रह गरेको हो। ‘नेपालमा समेत संक्रमण बढ्न सक्ने अवस्थालाई मध्यनजर गर्दै देशभर, सभा, जुलुस, सम्मेलन, गोष्ठी, सेमिनार, भीँडभाड हुने व्यवसाय र कार्यहरू नगर्नु हुन अनुरोध छ’ मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । त्यस्तै, मन्त्रालयले जारी गरेको जनस्वास्थ्यका मापदण्ड पालना गर्न पनि सबैलाई आग्रह गरेको छ ।
यसैबिच
नेपालमा पछिल्लो २४ घण्टामा थप ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार ९०६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा थप १०६ जनाले संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण संक्रमणमुक्त हुनेको संख्या २ लाख ७१ हजार ९२१ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु नभएको जनाएको छ । हाल नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार १६ रहेको छ ।