“नेकपा नरहेपछि कांग्रेसले सत्ताको नेतृत्व लिनुपर्ने अवस्था आयो” : गगन थापा

Gagan Thapa

नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओली संसदलाई औचित्यहिन बनाउने प्रयासमा लागेको आरोप लगाउनुभएको छ । आज पोखरामा आयोजित नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ गण्डकीको दोस्रो भेला एवं अधिवेशनको उद्घाटन गर्दै उहाँले यस्तो आरोप लगाउनुभएको हो ।
प्रधानमन्त्री ओलीलाई देश र जनताको चिन्ता भन्दापनि आफ्नो सत्ताको मात्र चिन्ता रहेको उहाँको भनाई छ । ‘नैतिकता प्रदर्शन गर्ने र राजिनामा दिनुको साटो मैले विघटन गरेको संसद औचित्यहिन छ भन्ने पार्नमा प्रधानमन्त्रीको ध्यान छ । उहाँले यो संसदलाई विजनेश दिन चाहनुहुन्न । जनप्रतिनिधिको थलोलाई उहाँले पंगु बनाउन चाहनुहुन्छ,’ नेता थापाले भन्नुभएको छ ।
जनताले पाँच वर्ष कांग्रेसलाई प्रतिपक्षमा बस्ने र नेकपालाई सत्ता हाँक्ने जिम्मा दिएपनि अब नेकपा नरहेपछि कांग्रेसले सत्ताको नेतृत्व लिनुपर्ने अवस्था आएको उहाँको भनाई छ । स्वभाविक रुपमा प्रधानमन्त्री ओलीको कदमलाई विरोध गर्नेहरुको बीचमा सरकार बन्नुपर्ने र त्यसको नेतृत्व कांग्रेसले गर्नुपर्ने पक्षमा आफूहरु रहेको थापाले प्रष्ट पार्नुभयो ।
जसपा र माओवादी केन्द्रले पनि यस विषयमा तुरुन्त निर्णण लिनुपर्ने र प्रधानमन्त्री ओलीलाई जतिसक्दो चाँडो विदा गरेर उनले विगारेका विषयलाई सच्याउनुपर्ने नेता थापाले जिकिर गर्नुभयो ।