गोरखामा केन्द्र सरकारको बजेट

गोरखा, २९ जेठ । संघीय सरकारको नीति तथा कार्यक्रमबाट गोरखाका विभिन्न
क्षेत्रका योजनामा बजेट विनियोजन गरेको छ । केन्द्र सरकारले जिल्लाकोे
पर्यटन र पुर्वाधार विकासमा बजेट प्रदान गरेको हो । पर्यटन पुर्वाधार
आरुघाट, कालताल क्षेत्र पर्यटन पुर्वाधार चुमनुब्री, गोरखनाथ गुफा पर्यटन
पुर्वाधार गोरखा नगरपालिका, रमाईलो डाँडा पार्क निर्माण आरुघाट, बौद्ध
गुम्बा निर्माण गण्डकी, गोरखा देखि काठमाण्डौ सम्म एकिकरण पर्यटकीय पैदल
मार्ग, धाम्सलिङ्गगढी संरक्षण आरुघाटका लागि बजेट व्यवस्था गरेको छ ।
यसले गोरखाको पर्यटन क्षेत्रको विकासमा सहयोग पुग्ने यस क्षेत्रमा काम
गर्दै आएका अगुवाहरुले बताएका छन् ।

    

यसैगरी बेनिघाट आरुघाट हुँदै रुइला नाका चार करोड, बसेरी मान्बुकाशीगाउँ, दोभान सडक चार करोड, यमगाउँ खानी गाउँ सडक चारकरोड बजेट विनियोजन भएको छ ।

यस अघि क्षेत्र नं। १ मा पर्ने त्रिशुली नदि माथि गोरखा र धादिङ जोड्ने
धावादीघाटमा पक्की पुल, शहिदलखनको करनटार मुग्लिन जोड्ने पक्की पुल
निर्माण प्रक्रिया अघि बढीसकेको छ । बुढीगण्डकी आयोजना निर्माणमा संकल्प
प्रस्ताव पारित भइसकेर वितरणमा बाँकी रहेका घरगोठ, बुट्यानहरु मुअब्जाको
ह्रास कट्टा नगरी विस्तापितहरुलाई छिटो वितरण गर्न यस क्षेत्रका साँसदले
माग गर्दै आएका थिए ।

गोरखा निर्वाचन क्षेत्र नं। २ अन्तर्गत चोरकाटे भालुस्वाँरा भच्चेक सडक
चार करोड, पालुङटार विमानस्थल ५५ लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
पर्यटन पुर्वाधार, जल नियन्त्रण, सिंचाई लगायतका क्षेत्रमा समेत बजेट
विनियोजन भएको छ । जिल्ला भित्र रहेका साँसदहरुको कोषबाट विनियोजित
बजेटबाट विकास निर्माणका कामहरु समेत भईरहेका छन् ।