जेठ २६, पोखरा । गण्डकी प्रदेश सरकारले कोरोना भाइरसको संक्रमण विरुद्ध जुध्नका लागि प्रत्येक जिल्लालाई ८० लाख उपलब्ध गराउने निर्णय गरेको छ ।
कोरोना भाइरस विरुद्धको व्यवस्थापनका लागि भन्दै प्रदेश भित्रका ११ वटै जिल्लालाई सो रकम उपलब्ध गराउन लागेको हो । आइतबार बसेको मन्त्रिपरिषदको निर्णय भिडियो सन्देशमार्फत सार्वजनिक गर्दै प्रदेश सरकारका प्रवक्ता एवम भौतिक पूर्वाधारमन्त्री राम शरण बस्नेतले यस्तो जानकारी गराए ।
प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या बढ्दै जान थालेपछि प्रदेशको यस्तो निर्णय आएको हो । मन्त्रीपरिषद वैठकले प्रदेशको प्रवेश नाका मुग्लिनमा नयाँ प्रहरी पोस्ट स्थापनाका लागि १४ लाख रुपैया विनियोजन गरेको छ ।
तनहुँको भानु नगरपालिकाको केन्द्र सार्न संघ सरकारलाई सिफारिश गरिएको छ । पश्चिमाञ्चल क्षेत्रीय क्षयरोग उपचार केन्द्र नामक संस्थालाई प्रदेश मातहत ल्याउने र गण्डकी क्षयरोग केन्द्र नामाकरण गरी सञ्चालन गर्ने निर्णय भएको समेत प्रवक्ता बस्नेत जानकारी गराए ।
त्यस्तै भौतिक पूर्वाधार मन्त्रालयबाट प्रवाह हुने सेवाका लागि अर्को जिल्ला जान नपर्ने व्यवस्था गरिएको समेत उनले बताए ।