बैशाख ३०, पर्साको छिपहरमाई गाउँपालिकाको क्वारेन्टाइनमा बसेका ६२ जना व्यक्तिमध्ये १४ जनामा कोरोना संक्रमण पाइएको छ । गाउँपालिकाका प्रमुख मनोजकुमार गुप्ताका अनुसार संक्रमित १४ जनाको समूह १७ दिनअघि वैशाख १३ गते बस चढ़ेर बाग्लुङबाट पोखरा हुँदै आएका थिए । बसमा ४२ जना आएका थिए ।
संक्रमितहरू बाग्लुङमा काम गर्दै आएका मजदुर हुन् । ‘उनीहरू आएको खबर पाए लगत्तै मैले सबैलाई दायाँबायाँ हुने मौका दिइनँ, सबै जनालाई क्वारेन्टाइनमा राखेको थिएँ,’ प्रमुख गुप्ताले लोकान्तरसँग भने, ‘२ दिनअघि वैशाख २८ गते उहाँहरूको स्वाब संकलन गरिएको थियो ।’
संक्रमितमध्ये १ जना भारतीय नागरिक रहेको, २ जना पर्सा जिल्लाकै धोबिनी गाउँपालिकाका र बाँकी ११ जना छिपहरमाई गाउँपालिकाका रहेका उनले बताए ।