नगरवासीको गुनासो सुन्न निशुल्क हटलाईन संचालनमा ।

वैशाख १४, पोखरा महानगरपालिकाले नगरवासीहरुको गुनासो सुन्नको लागि पैसा नलाग्ने हटलाइन नम्बर ११८१ र ११८६ सञ्चालनमा ल्याएको छ । नगरवासीहरुले आफ्ना समस्याहरु टोल फ्रि नम्बरमा फोन गरेर टिपाउन सक्ने छन ।

महानगरपालिकाले यो ११८१ नम्बर वैशाख ३ गतेदेखि सञ्चालनमा ल्याएको थियो भने अर्को नम्बर ११८६ बेशाख १४ गतेदेखि सञ्चालनमा ल्याएको हो ।

कोरोना भाइरसको महामारीको समयमा नगरवासीहरुका स्वास्थ्य सम्बन्धी गुनासा, सुझाव र लकडाउनको जोखिममा परेका समुदायको समस्या लगायत नगरवासीहरुका हरेक गुनासो सुनेर सम्भव भएसम्म सम्बोधन गर्न टिम बनाइएको पोखरा महानगरपालिका सूचना अधिकारी भरतराज पौडेलले जानकारी दिए ।

समस्यामा परेका व्यक्तिहरुलाई उद्धार चाहियमा या उद्वार गर्नु परेमा पनि ११८१ र ११८६ नम्बरमा फोन गरेर आफुलाई परेको समस्या राख्न सकिने महानगरपालिकाले बताएको छ ।