काेराेनालाई जितेर घर फर्किनेकाे संख्या १२ पुग्याे ।

वैशाख १३, कोरोना संक्रमित चितवनको राप्ती नगरपालिका का २७ वर्षीय युवक डिस्चार्ज भएका छन् । उनी डिस्चार्ज भएसँगै नेपालमा कोरोनालाई जित्दै घर फर्किनेहरुको संख्या १२ पुगेको छ ।

ती युवकको शुक्रबार कोरोना परीक्षणको रिपोर्ट पनि नेगेटिभ आए पछि शनिबार डिस्चार्ज गरिएको भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. श्रीराम तिवारीले पत्रकारलाई जानकारी दिए ।

डिस्चार्ज भए पनि ती युवक केही दिन भने अस्पतालमै बस्ने छन् । उनकी कोरोना संक्रमित आमाको उपचार भरतपुर अस्पतालमा नै भैरहेकाले उनले केही दिन अस्पतालमा नै बस्ने इच्छा जनाएकाेले उनलाई अझै अस्पतालमा नै राखिने अस्पतालले जनाएको छ ।

भरतपुर अस्पतालको क्याविनमा राखेर उपचार गराइरहेका युवककी ६३ वर्षीया आमाको भने रिपोर्ट पोजेटिभ नै आएको छ । गत चैत ५ गते बेलायतबाट नेपाल फर्किएका आमा–छोराको कोरोना पोजेटिभ देखिएको थियो ।

अहिले सम्म नेपालमा ४९ जनामा कोरोना पुष्टि भएको छ । जसमध्ये १२ जना निको भएर घर फर्किएका छन् भने अन्य ३७ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।