दीपक कोइराला : व्यवहारमा मिलनसार, काममा परिपक्व

पोखरा, २७ कात्तिक ।
घरेकजसो चुनावी सभामा कांग्रेस नेता यज्ञबहादुर थापा कास्की १ को १ मा प्रदेशसभा सदस्य उम्मेदवार दीपक कोइरालाको तारिफ गर्छन् । कोइरालाले आफ्नो पहिलो कार्यकालमा थुप्रै काम गरेको भए पनि प्रचारप्रसार नगरेकोमा गाली पनि गर्छन् । भन्छन्, ‘उनी मिजासिलो छन् । सबैसँग मिल्छन् । धेरै काम गरेर पनि आफूले यो–यो गरे भनेर भन्न जान्दैनन् ।’
पूर्वमन्त्री समेत रहेका थापा उम्मेदवार कोइरालाले चुनाव जितेपछि प्रदेशको ‘पावरफुल’ मन्त्रालय सम्हाल्ने पक्कापक्की रहेको मतदातालाई बताउँछन् । ‘यत्तिको युवा नेता यो क्षेत्रले पाएको छ । जितेर गएपछि मन्त्री बन्छ, बन्छ,’ उनले मतदाताको बीचमा भन्ने गरेका छन्, ‘व्यवहारमा मिलनसार पनि छ, काममा परिपक्वता पनि छ ।’ थापाको भनाइलाई पुष्टि गर्ने आधार हो गत साता पोखरा–३१ वेगनासको घटना । पाँच दलीय गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार कोइराला चुनावी घरदैलोको क्रममा वेगनास पुगे । त्यहाँ अर्को दलका उम्मेदवार र कार्यकर्ता जम्मा भएर बसेका थिए । कोइराला आफ्ना प्रतिस्पर्धीसँग हार्दिकता साट्न पुगे । ती दल समर्थक कार्यकर्ताले स्वागत गरे । कोइरालाका प्रतिस्पर्धीले भने मुन्टो बटार्दै आफ्नो पार्टीको आन्तरिक कार्यक्रम भएकोले त्यहाँबाट गइहाल्न भने । नमस्कारसम्म फर्काएनन् । आफ्नै पार्टीको उम्मेदवारको यस्तो व्यहोरा देखेर उनकै पार्टीका कार्यकर्ताले कोइरालासँग माफि मागे । आफ्नै उम्मेदवारको छुद्र बानी अझै नसुध्रिएकोमा दुखमनाउ गरे ।
त्यसो त, ०७४ मा निर्वाचित हुँदा नै कोइराला सबैसँग घुलमिल हुने युवा नेताको रुपमा चिनिन्थे । उनी बालकालिकादेखि वृद्धवृद्धासम्म समान व्यहारा गर्थे । निर्वाचित भएपछि उनी पटकपटक मतदाताकोमा पुगे । सर्वसाधरणले गर्ने हरेक फोन उठाए । उनीहरुले आग्रह गरेको काम सकभर पूरा गरे । उनको यो व्यवहार अहिलेको निर्वाचनमा पनि देखिन्छ । घरदैलोको क्रममा उनी उमेर अनुसारको सम्बोधन र सम्मान सर्वसाधारणलाई गर्छन् । उनको हार्दिकता देखेर मतदाता समेत मोहित छन् ।
कामको परिपक्वता उनले पाँच वर्षमा गरेका विकास निर्माणमा झल्किन्छ । पाँच वर्ष संसदमा पुगेर नीति बनाउन खर्चिए पनि निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रममार्फत जनतासँग प्रत्यक्षरुपमा जोडिए । स्थानीय आवश्यकता पहिचान गरेर तिनलाई सम्बोधन गर्न अहोरात्र खटिए । पोखरा र लेखनाथको भूगोल मिलेर पोखरा महानगरपालिका बने पनि मन मिलेको थिएन । साविकको लेखनाथ नगरपालिकावासीले महानगरमा अपनत्व लिन सकेका थिएनन् । उनले केही योजना साविक लेखनाथ क्षेत्रमा लगे । उदाहरणको संक्रामक तथा सरुवा रोग अस्पताल । कोरोना महामारीमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले संक्रमितको चाप थेग्न नसक्दा उनकै पहलमा साविकको लेखनाथ लायन्स अस्पताललाई संक्रामक तथा सरुवा रोग अस्पतालमा रुपान्तरण गरियो । लेखनाथमै प्रदेशस्तरको आयूर्वेद अस्पताल निर्माण भयो । गण्डकी विश्वविद्यालय लेखनाथमै स्थापना भयो । उनकै पहलमा पोखरा र साविक लेखनाथ जोड्ने गरी विजयपुर खोलामाथि दुईवटा पुल बने । एउटा पुल निर्माणाधिन छ ।
संसदमा रहेर निरन्तर जनताको पक्षमा आवाज उठाए । खबरदारी गरे । कोरोना महामारीको समयमा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको रकम खोप खरिद गर्न मिल्ने बनाउनुपर्ने आवाज उनले संसदमा उठाएका थिए । सरकार परिवर्त हुँदा पनि पाँच वर्ष नै विषयगत समितिका सभापति हुने उनी एक्ला सांसद हुन् । उनी पाँच वर्ष अर्थ तथा विकास समिति सभापति भए । त्यसक्रममा उनले मापदण्डविपरीतका क्रसर उद्योग बन्द गराउन निर्देशन दिएका थिए । बन्द भएको गोरखकाली रबर उद्योग टायर कारखालाई खोल्न उनले पहल गरे ।
विकास निर्माणमा पनि उनले नयाँ र सिर्जनात्मक उपायको खोजी गरे । नेपालमै पहिलोपल्ट प्राकृतिक तालमाथि झोलुंगे पुल बनाए । रुपा ताल माथि बनाइएको झोलुंगे पुल अहिले पर्यटकीय आकर्षणको केन्द्र बनेको छ । वेगनासको जीर्ण बाँध मर्मत गरी फुट ट्र्याक बनाए । वेगनास तालको सौन्दर्यीकरण गरे । उक्त फुट ट्र्याक निर्माण पछि आन्तरिक तथा बाह्य पर्यटकको आगमनमा वृद्धि भयो । भण्डारढिक रंगशालाको स्तरोन्नति, कभर्ड हल निर्माणको सुरुवात, पचभैया चिडियाँखानालाई सहयोग, विभिन्न खानेपानी तथा सिंचाइ आयोजनामा उनले बजेट विनियोजन गरे ।
उनले टुक्रे भन्दा ठूलो योजनामा जोड दिए । रुपा गाउँपालिकामा ‘एक निर्वाचन क्षेत्र, एक नमुना सडक’ कार्यक्रमअन्तर्गत उनले रिङ रोड पु¥याए । रिङ रोडमा हालसम्म ३० करोड रुपैयाँभन्दा बढी बजेट खर्च भइसकेको छ । वेगनासदेखि भोर्लेटार जोड्ने सडक कालोपत्रे गर्न १० करोड रुपैयाँभन्दा बढी विनियोजन भएर खर्च भएको छ । रुपा गाउँपालिकाका अधिकांश बाटा प्रदेशकै बजेटबाट बनेका छन् । कांग्रेस सहमहामन्त्री जीवन परियार आफ्ना पूर्व प्रतिस्पर्धी दीपक कोइरालालाई जिताउन खटिएका छन् । भन्छन्, ‘अब पालो युवाहरुकै हो ।’