‘टाउकोमा नाम्लो राखेर पानी बोक्नुपर्ने बाध्यताका अन्त्य गर्छु’– काँग्रेस उम्मेदवार प्रकाश बराल

पोखरा ।
कास्कीको क्षेत्र नम्वर ३ (ख) अन्तर्गत पर्ने पोखरा महानगरपालिका वडा नम्वर २४ को गुण्डेचौरमा खोनपानीको चरम समस्या समाधान गर्ने काँग्रेस उम्मेदवार प्रकाश बरालले प्रतिबद्वता जनाएका छन् । सोही क्षेत्रबाट प्रदेश सभा सदस्यका उम्मेदवार बरालले त्यहाँका स्थानियसँगको भेटघाटमा घण्टौं लगाएर टाउकोमा नाम्लो राखेर पानी बोक्नुपर्ने बाध्यता अन्त्य गर्ने प्रतिवद्वता जनाएका हुन् ।

उनले भने,–‘२१औं शताब्दीमा पनि कास्कीकोटका कुखुरा र गाइवस्तुले पानी खान पाएका छैनन् । पानीको अभावमा धेरै आमाहरुका ढाडका छाला गएका छन् । यस्तो अवस्थाको छिट्टै अन्त्य गर्नेछु ।’

२०४८ सालदेखि नेताहरुले आश्वासन मात्र दिने गरेको भन्दै उनले जनताले ‘जुन जोगी आएपनि कानै चिरेको’ भन्न थालेको बताए । आफूले जिम्मेवारी पाएपछि जनताले यस्तो उखान भन्न नपर्ने उनले प्रस्ट पारे ।

भेटका क्रममा पोखरा २४ का वासीले गाउँमा खानेपानीको चरम समस्या रहेको बताउँदै महानगरभित्रको वडा भएपनि महानगरवासी अनुभुत गर्न नपाएको गुनासो गरेका थिए । पर्यटकीय गन्तव्यको वडाको रुपमा रहेको वडा २४ मा विकासका पूर्वाधारहरुमा सम्वन्धित निकायको ध्यान नपुग्दा वडा नै पछाडी परेकोमा स्थानियले चिन्ता व्यक्त गरे ।

स्थानियका समस्यालाई सम्वोधन गर्दै उम्मेदवार गुरुङले आफू निर्वाचित भएको पाँच वर्ष भित्रमा क्रमवद्व रुपमा स्थानियका समस्या समाधान गर्ने वाचा गरेका हुन् । जसका लागि मंसिर ४ गते हुने निर्वाचनमा पाँच दलीय गठबन्धनका क्षेत्र नम्वर ३ (ख) मा रुख चिन्हमा भोट दिएर अत्यधिक बहुमतले जिताउन आग्रह गरे ।

उनले गुण्टेचौरदेखि वडा कार्यालयसम्म जाने बाटो अझै पनि धुलाम्य अवस्थामै रहनु विडम्वना भएको बताएका छन् । उनले भने,–‘महानगरपालिका भित्रको सडक अझै पनि यस्तो अवस्थामै रहिरहँदा मलाई निकै दुःख लागेको छ । निर्वाचन जिताएर सेवा गर्ने मौका दिनुभएमा छिट्टै यसको अन्त्य गर्नेछु ।’

उनले स्थानिय निकायलाई मजबुत बनाएर स्थानिय सरकार मार्फत नै जनताका जनजीविकालाई सम्वोधन गर्ने बताए ।

शनिवार उम्मेदवार बरालले पोखरा २४ का कास्कीकोट मैदान, काउले, पौडेल गाउँ लगायतका स्थानमा घरदैलो गरेका थिए ।