पोखरा-५ मा उम्मेदवार प्रकाश बरालको घरदैलो, मतदाता उत्साहित

पोखरा । कास्की क्षेत्र नं. ३ (ख) का गण्डकी प्रदेश सभा सदस्य पदका उम्मेदवार प्रकाश बरालले आइतबार पोखरा महानगरपालिका वडा नं. ५ मा घरदैलो गरेका छन् । वडाका प्रस्याङ, रातोमाटा, शिवालय, धर्मस्थली, धारापानी लगायतका क्षेत्रमा उनले मतदाता भेटघाट गरे ।


नेपाली कांग्रेसका पार्टी सभापति प्रकाश बरालका अनुसार उम्मेदवार नै सहभागी भएर घरदैलोमा जाँदा मतदाता निकै खुशी भए । स्वयं उम्मेदवारसँगै आफ्ना समस्या राख्न पाउँदा मतदाताले ठूलो राहत महसूस गरेको उनले बताए ।

उम्मेदवार बरालसँग स्थानिय खड्कबहादुर शाहीले फिर्के खोलाले आफूहरुको उठिवास लगाउन लागेको दुःखेसो पोखे । शाहीले भने, ‘खोलाले दिनुसम्म दुःख दिएको छ । यो समस्या लिएर वडा कार्यालयमा पटक–पटक धाउँदा वास्तै गर्दैनन् । जनप्रतिनिधिले अर्के भूगोलको मान्छेजस्तो व्यवहार गर्छन् ।’

मतदाताकाे समस्यालाई आत्मसात गर्दै उम्मेदवार बरालले वडाका प्रत्यासी उम्मेदवार प्रमोद कोइराला र नेपाली कांग्रेसका जिल्ला सदस्य विजयालक्ष्मी कोइरालालाई देखाउँदै ‘अब तपाइँले यस्तो गुनासो गर्ने अवस्था आउँदैन । तपाइँसँग म छु, हामी छौं । समस्या समाधानमा म सहयोग गर्नेछु । निर्वाचन सकिएपछि उहाँहरुसंग सम्पर्क गर्नुहोला ।’

नेकपा (माओवादी) केन्द्रका सचिव नवराज कोइरालाले उम्मेदवार नै लिएर घरदैलोमा जाँदा चुनावी माहोल अर्कै हुने  र मतदाता पनि निकै खुशी हुने अनुभव रहेकाे बताए ।

नेकपा (एकीकृत समाजवादी) का नेता पुष्पराज बरालले  पोखरा-५ मा उम्मेदवार बराल घरदैलोमा आउँदा मतदाता निकै उत्साहित र स्वयं जनप्रतिनिसंग समस्या राख्न पाउँदा मतदाता निकै उत्साहित भएकाे प्रतिक्रिया दिए ।

प्रस्याङ-रातामाटा-लम्भीडाँडा क्षेत्रका स्थानीयले भलबाढी समस्याले वर्षेनी सताउने गरेकोले समस्या समाधानका दागि पहल गरिदिन आग्रह गरेका थिए ।

यस्तै, धारापानी ‘क’, ‘ख’ र ढुंगेखोला-बाँसटारी क्षेत्रमा मतदाताले सडक, नालाका साथै भलवाढीका समस्या उम्मेदवार बराललाई सुनाएका थिए ।

जवाफमा उम्मेदवार बरालले जनताका यी समस्यालाई आफ्नै समस्या ठानी समाधानका लागि पहल गर्ने प्रतिवद्धता जनाए । ‘म तपाइँकै भाइ छोरा हुँ, तपाइँको समस्या मेरो पनि हो’, उनले भने, ‘यहाँका गठवन्धन दलमा आवद्ध नेताहरुमार्फ यी समस्या लिएर आउनुहोला । यसलाई म प्रदेशसभामै लैजानेछु । ढुक्क हुनुस् यी समस्या समाधान हुनेछन् ।’

उनले राजनीतिक आस्थाका आधारमा कसैमाथि पनि भेदभाव नगर्ने प्रतिवद्धता जनाएका छन् । मतदातासँग भने, ‘मत कसलाई दिने तपाइँको नैसर्गिक अधिकार हो । म यहाँको प्रतिनिधि भइसकेपछि भेद्भाव भन्ने कुरा हुँदैन । सबै मेरा मतदाता हुन्, सबै जनता हुन् ।’

वडा कार्यालयले वडाभित्रका विकास निर्माणका काममा राजनीतिक पूर्वाग्रही राख्ने गरेको धर्मस्थली टोलका एक मतादाताले दुःखेसो पोखे । ‘यहाँ हेर्नुस् त यो सडक । कति विजोग थियो । कति दुःख पायौं हामीले । वडामा पटक पटक धाउँदा ध्यान दिइएन । बल्ल बल्ल माथिबाट बजेट आएर काम शुरु हुन लागेको छ’, उनले भने ।

घरदैलोका क्रममा उम्मेद्वार बरालले पोखरा–५ मा फरक अनुभूति भएको प्रतिक्रिया दिए । ‘अन्यत्र घरदैलोमा जाँदा मतदाताले ठूलाठूला समस्या सुनाएका थिए । उम्मेदवारसँग ठूलो अपेक्षा राखेका थिए । तर यहाँका मतदाताले सडक, ढल, भलवाढी जस्ता सानासाना समस्या सुनाउनुभयो’, उनले भने, ‘यी समस्या समाधान वडा कार्यालय मार्फत हुनुपर्ने थियो । मतदाताले यस्ता सामान्य गुनासो गर्दा मलाई निकै दुःख लाग्यो ।’