गण्डकी प्रदेश सभाको अर्को बैठक मिति अझै लम्बिने संकेत

gandaki pardesh sabha

बैशाख २१, कास्की,


गण्डकी प्रदेश सभाको अर्को बैठक मिति अझै लम्बिने भएको छ । बैशाख १५ गते अनिश्चित कालका लागि स्थगित बैठक अब कहिले सुरु हुन्छ भन्नेबारे टुंगो लाग्न सकेको छैन । सोमबार बसेको कार्य कार्यव्यवस्था समिति बैठकले निर्णय दिन नसकेपछि अनिश्चितता अझै लम्बिने देखिएको हो ।
बैशाख १५ गते बैठक स्थगन भएपछि सभामुख नेत्रनाथ अधिकारीले आइतबारदेखि सम्बन्धित विभिन्न दलसँग छलफल गर्दै सोमबार समितिको बैठक बोलाउनुभएको थियो । सदन अनिश्चितकालका लागि स्थगन भएपछि पहिलो पटक सोमबार कार्य व्यवस्था समिति बैठक बसेको थियो । रोकिएको सदन कहिले सुरु हुने भन्नेबारे छलफल गर्ने बैठकको एजेन्डा थियो ।
तर, करिब ३ घन्टा लामो समयसम्म चलेको छलफलले निर्णय लिन नसकेपछि त्यसको जिम्मा सर्वदलीय बैठकलाई दिने निर्णय गरेको छ । मंगलबार बस्ने सर्वदलीय बैठकमा ५ दलका नेताले सभामुखसँग छलफल गर्ने र त्यसपछिमात्रै निस्कर्षमा पुग्ने बैठकमा सहाभागी जनमोर्चा सांसद कृष्ण थापाले जानकारी दिनुभयो ।