पोखरामा उपचाररत थप एक कोरोना संक्रमितको मृत्यु/सरकारद्धारा जनस्वास्थ्य संकटकाल घोषणाको तयारी

corona test final

बैशाख २१, कास्की,


कोरोना संक्रमित भएपछि पोखरामा उपचाररत थप एक पुरुषको आज मृत्यु भएको छ । पोखरामा रहेको चरक मेमोरियल अस्पतालमा उपचारको क्रममा कोरोना संक्रमित म्याग्दी जिल्लाको मंगला गाँउपालिका–६ का ७६ वर्षीय पुरुषको मृत्यु भएको हो ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार उहाँलाई बैशाख १७ गते कोरोना पुष्टि भएकोे थियो । निर्देशनालयका अनुसार आज थप एकसँगै प्रदेशमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या २ सय ३३ पुगेको छ ।


यसैबिच कोरोना महामारीको दोस्रो लहरमा संक्रमणदर तीव्र भई मृत्यु हुनेको संख्यासमेत बढ्दै गएपछि सरकारले जनस्वास्थ्य संकटकाल (हेल्थ इमर्जेन्सी) घोषणाको तयारी गरेको छ।

hlth 1

नेपालमा पछिल्ला दिनमा संक्रमण तीव्र हुनुका साथै अस्पतालमा भर्ना हुने र ज्यान गुमाउने संक्रमित संख्या बढ्दै गएपछि सरकारले जनस्वास्थ्य संकटकाल घोषणा गर्न लागेको हो।

देशका सम्पूर्ण संयन्त्र कोरोना महामारीमा परिचालन गर्ने विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञहरूसँग सल्लाह गरी तयारी अघि बढाएको मन्त्रालयका एक अधिकारीले बताउनुभएको छ।

निषेधाज्ञा तथा लकडाउन लगाउँदा पनि महामारी नियन्त्रण गर्न कठिन भएकाले यसपटक पनि संक्रमण बढ्दै गएपछि जनस्वास्थ्य संकटकाल प्रस्ताव मन्त्रिपरिषद्ममा लैजाने विषयमा छलफल गरिएको मन्त्रालयका एक अधिकारीले जानकारी दिनुभयो ।​

संक्रमण रोग ऐन २०३०, संक्रामक रोग ऐन २०२०, जनस्वास्थ्य सेवा ऐन २०७५, विपद्‌ जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७४ र आवश्यक सेवा सञ्चालन ऐन २०१४ अनुसार ‘स्वास्थ्य संकटकाल’‌ लगाइन्छ। यी ऐनका आधारमा सरकारले स्वास्थ्यमा आपतकालीन सेवा घोषणा गर्छ।

जनस्वास्थ्य संकटकाल घोषणा भएपछि विश्‍व स्वास्थ्य संगठनले घोषणा गरेको ग्लोबल इमर्जेन्सी र महामारीका शर्तहरू स्वतः लागू हुनेछन्।

हेल्थ इमर्जेन्सी घोषणासँगै संक्रमतिलाई घर या क्‍वारेन्टाइनमै राखेर लक्षण भएका संक्रमितलाई मात्रै अस्पताल लगिनेछ। ५ हजारभन्दा बढी सक्रिय केस भएमा स्वास्थ्य समस्या भएका संक्रमितलाई मात्रै अस्पतालमा भर्ना गरिने उल्लेख छ। अन्यलाई भने घरमै क्‍वारेन्टाइनमा बस्ने र समस्या भएमा मात्रै अस्पताल ल्याइने छ। यदि १० हजारभन्दा बढी संक्रमित भएमा विपद जोखिम न्यूनीकरण व्यवस्थापन ऐन अनुसार आपतकालीन अवस्था घोषणा गर्ने सो निर्देशिकामा उल्लेख छ।