महामारीकाबीच भारतमा विधानसभाको मतगणना सुरु, ममताको किल्ला भत्काउन प्रधानमन्त्री मोदी विफल देखिँदै

bharat chunaab

बैशाख १९, एजेन्सी,


भारतका विभिन्न राज्यमा कोरोना महामारीकाबीच भएको विधानसभा निर्वाचनको आज मतगणना सुरु भएको छ ।
गत महिना विभिन्न चरणमा चार राज्य र एक केन्द्र शासित प्रदेशमा कुल ८ सय २२ विधानसभा सिटका लागि मतदान भएको थियो । मतगणनाको सबै नतिजा भोलि बिहानसम्म आइसक्ने जनाइएको छ ।
यसैबिच भारतको पश्चिम बंगालमा गराइएको विधान सभा निर्वाचनमा तृणमूल कंग्रेसले भारतीय जनता पार्टीलाई निकै अन्तरले हराउने देखिएको छ ।
वर्तमान मुख्यमन्त्री एवं तृणमूल कंग्रेसकी नेतृ ममता बनर्जी र भाजपा नेता एवं प्रधानमन्त्री नरेन्द्र मोदीबीचको निर्वाचनका रुपमासमेत हेरिएको यस निर्वाचनमा बनर्जीले बाजी मार्ने निश्चित देखिएको छ ।
निर्वाचन रुझानले बनर्जीको पार्टी २१५ स्थानमा अगाडी हुँदा मोदीको भाजपा जम्मा ७६ सीटमा समेटिएको छ । अरु दलको उपस्थिति नगण्य देखिएको छ । कुनैबेला राज्यमा कब्जाझै जमाएका कम्युनिष्टहरु जम्मा एक सीटमा जित्ने देखिँएको भारतिय सञ्चारमाध्यामले बताएका छन् ।
२९४ सिट रहेको पश्चिम बंगालमा दुई कार्यकाल लगातार शासन गर्नुभएकी बनर्जीलाई हटाउन प्रधानमन्त्री मोदी र गृहमन्त्री अमित शाहले सम्पूर्ण शक्ति केन्द्रित गर्नुभएको थियो ।
मत परिणामको अहिलेसम्मको रुझान हेर्दा सबैबाट ‘दिदी’ उपनाम पाउनुभएकी ममताको किल्ला भत्काउन मोदी–शाह जोडी विफल हुने प्रष्ट देखिएको हो । तृणमूल कांग्रेसको यस जीतमा भारतका विपक्षी दलहरुले पनि बधाई दिन थालेका छन् ।
पश्चिम बंगालका अतिरिक्त एक केन्द्र प्रशासितसहित पाँच राज्यमा भएको विधान सभा निर्वाचनको मतगणना भइरहेको हो । नयाँ नेतृत्वका लागि गत मार्च र अप्रिलमा विभिन्न चरणमा केरला, तमिलनाडु, पश्चिम बंगाल, असम र पुडुचेरीमा निर्वाचन गरिएको थियो ।