लुम्बिनी प्रदेशमा शङ्कर पोखरेल पुनः मुख्यमन्त्री नियुक्त/शपथ नदिलाउन प्रतिपक्षदलहरुद्धारा प्रदेश प्रमुखको ध्यानाकर्षण

lumbini

बैशाख १९, बुटवल,

नेकपा एमाले लुम्बिनी प्रदेशका संसदीय दलका नेता शङ्कर पोखरेल पुनः मुख्यमन्त्रीमा नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख धर्मनाथ यादवले शङ्कर पोखरेललाई संविधानको धारा १६८ को उपधारा (१) बमोजिम प्रदेश मुख्यमन्त्री पदमा नियुक्त गर्नुभएको हो ।

यसअघि पोखरेलले आफ्नो नेतृत्वमा नेपालको संविधानको धारा १६८ को उपधारा (१) बमोजिम सरकार गठन गर्न प्रदेश सभाका बहुमत सदस्यको हस्ताक्षरसहित प्रदेश प्रमुखसमक्ष दाबी पेस गर्नुभएको थियो । मुख्यमन्त्री पोखरेलले आज बिहान मुख्यमन्त्री पदबाट राजीनामा दिनुभएको थियो ।
यसैबिच
लुम्बिनी प्रदेश सभाका ४० जना विपक्षी सांसदले मुख्यमन्त्रीमा शंकर पोखरेललाई शपथ नदिलाउन प्रदेश प्रमुखको ध्यानाकर्षण गराएका छन् ।

आइतबार पदबाट राजीनामा दिएर फेरि एमालेका तर्फबाट एकल बहुमतको सरकार गठनको तयारी गरिरहनुभएका पोखरेलसँग प्रदेश सरकार गठनका लागि आवश्यक बहुमत अर्थात् ४१ सांसद नरहेको भन्दै उनीहरुले प्रदेश प्रमुखको ध्यानाकर्षण गराएका हुन् ।

प्रदेशसभाका नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जसपा नेपाल लगायतका ४० सांसदले प्रदेश प्रमुखलाई भेटेर नै शपथ रोक्न भनेका छन् । पोखरेलसँग बहुमत नरहेको भन्दै आफ्नो पक्षमा ४० सांसदको हस्ताक्षर उनीहरुले देखाएका हुन् ।

८१ सदस्यीय प्रदेशसभामा एमालेको पक्षमा ४१ सांसद रहेको भनिएकै समयमा गत उपनिर्वाचनमा नेकपाबाट विजयी बनेका सांसद विमला वलीले आफू नेकपा माओवादी केन्द्रमा जाने भन्दै पत्र पठाएपछि एकाएक खेल बदलिएको हो । वलीले माओवादी केन्द्र रोज्नासाथ अब एमालेको पक्षमा ४० सांसद रहने छन् ।