प्रदेश सभाको बैठक सञ्चालनका लागि सभामुखद्वारा छलफल र परामर्श

netranath adhikari

बैशाख १९, कास्की,

गण्डकी प्रदेश सभाको बैठक सञ्चालनका लागि सभामुख नेत्रनाथ अधिकारी सक्रिय बनेका छन् । अविश्वास प्रस्तावमाथि छलफल चलिरहँदा अचानक स्थगित गरिएको प्रदेशसभा बैठक सञ्चालनका लागि प्रदेश सभामुखले दलहरुसँग छलफल सुरु गर्नुभएको छ ।

त्यही क्रममा प्रदेश सभा बैठक सञ्चालनको पहल गर्दै उहाले आईतबार राष्ट्रिय जनमोर्चा संसदीय दलका नेता कृष्ण थापा र महान्यायाधिवक्ता राजेन्द्र घिमिरेसँग छलफल गर्नुभएको छ । दुवै भेट संसद बैठक सञ्चालनका विषयमा केन्द्रीत रहेको सभामुख अधिकारीको सचिवालयले बताएको छ ।

भेटमा जनमोर्चाका संसदीय दलका नेता थापाले संसद बैठक अगाडि बढाउन सभामुखलाई आग्रह गर्नुभएको थियो । थापाले जनमोर्चाको तर्फबाट बैठक अगाडि बढाउन कुनै समस्या नरहेको सभामुख अधिकारीलाई जानकारी गराएको बताउनुभएको छ । उहाले संसद बैठक जुन अवस्थामा स्थगित भएको थियो, त्यहिबाट शुरु गर्नसमेत आग्रह गरेको जानकारी दिनुभयो ।

महान्याधिवक्ता घिमिरेसँग भने सभामुख अधिकारीले कानुनी परामर्श गर्नुभएको थियो । बैशाख १५ गते अविश्वास प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूँची रहेका बेला अचानक बैठक स्थगित गरेपछि त्यसको सत्तारुढ नेकपा एमालेले आपत्ति जनाएको थियो । कार्यव्यवस्था परामर्श समितिको बैठकमा भएको निर्णय अनुसार कार्यसूची निकालेर बैठक चलिरहँदा बिना परामर्श बैठक स्थगित गरेर सभामुखले बेइमानी गरेको एमालेको आरोप रहेको छ । उसले तोकिएको मितिमा अविश्वास प्रस्ताव निर्णयार्थ प्रस्तुत नगरेपछि अब त्यसको औचित्य सकिएको दाबी गर्दै आएको छ । सभामुखले सोहि विषयमा कानूनी परामर्श गरेको श्रोतको दाबी रहेको छ । तर सभामुखको सचिवालयले भने सभामुख र महान्यायाधिवक्ताबीचको भेटलाई नियमित भेट भनेको छ ।

सभामुख अधिकारीसँग भेट गरेपछि महान्यायाधिवक्ता घिमिरेले दलहरुसँगको तिक्ततालाई कम गर्दै सहमतिका आधारमा बैठक सञ्चालन गर्न सुझाव दिएको जानकारी दिनुभयो ।

उहाले कार्यसूची बनाएर बैठक बसिसकेपछि संख्याको आधारमा कसको पक्ष र विपक्षमा बहुमत र अल्पमत पर्छ भन्ने आधारमा बैठक सञ्चालन वा स्थगित गर्न नहुने भएकाले सभामुखलाई आफूले तटस्थ बस्न सुझावसमेत दिएको बताउनुभयो ।

छलफल पछि सभामुख अधिकारीले सोमबार कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउने तयारी गरेको संसद सचिवालय सदस्य सौगात शर्माले जानकारी दिनुभयो ।