बैशाख १५, पोखरा,
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध परेको अविश्वासको प्रस्तावमाथि मतदान हुनुअघि प्रदेश सभा बैठक नै अनिश्चितकालका लागि स्थगित भएको छ । बुधबार बसेको पहिलो बैठकमा प्रदेश सभा सदस्यहरूले प्रस्तावमाथि छलफल गरेका थिए ।
दोस्रो बैठकमा मुख्यमन्त्री गुरुङले अविश्वासको प्रस्तावमा उठेका प्रश्नमाथि जवाफ दिने र मतदान गर्ने कार्यक्रम थियो । तर, निर्णायक मानिएको राष्ट्रिय जनमोर्चाका एक जना सांसद् खिमविक्रम शाही अनुपस्थित रहनुभएको थियो । त्यसपछि राजमोकी सचेतक पियारी थापाले सदन रोक्न माग गर्दै सभामुखलाई निवेदन दिनुभएको थियो । सोही आधारमा सभामुखले बैठक स्थगित गरिदिनुभएको हो ।
थापाले मुख्यमन्त्रीको विरोधमा राखिएको अविश्वासको प्रस्तावमा राजमोले समर्थन जनाइरहेको सन्दर्भमा सदनमा मतदानको परिस्थिति बनेको दिन आफ्नो पार्टीको प्रदेश सभा सदस्य शाहीको अवस्था अज्ञात रहेको निवेदन गण्डकी प्रदेशका सभामुखसमक्ष पेश गर्नुभएको छ ।
‘उहाँको अवस्था सार्वजनिक गर्न, निजको जीवन रक्षा गर्न र निज सार्वजनिक नभएसम्म सदनको कारबाही नचलाइयोस् भन्ने विनम्र अनुरोध गर्दछु’, निवेदनमा भनिएको छ ।
‘यस विषम परिस्थितमा निवेदनमाथि सम्बोधन नगरी सदन सञ्चालन गर्न उपयुक्त नभएकोले अर्को सूचना नभएसम्मका लागि गण्डकी प्रदेश सभाको आजको बैठक स्थगित भएको व्यहोरा सूचित गरिन्छ’, प्रदेश सभा सचिव हरिराज पोखरेलले जारी गरेको सूचनामा भनिएको छ ।
यसैबिच
गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकार टिक्ने सम्भावना देखिएको छ । प्रदेश सभाको विशेष अधिवेशनको तेस्रो बैठकमा निर्णयक मानिएको पार्टीका एक सांसद र एक स्वतन्त्र सांसद अनुपस्थित भएपछि सरकार टिक्ने सम्भावन देखिएको हो ।
प्रदेश सभामा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध पेश भएको अविश्वास प्रस्तावको पक्षमा निर्णायक मानिएको राजमोका सांसद शाही र अर्का एक स्वतन्त्र सांसद राजीव विक्रम शाही पनि सम्पर्क विहीन भएका भएको एक सांसदले जानकारी दिनुभयो । उनीहरुलाई प्रतिपक्षले तारन्तार सम्पर्कको प्रयास गरिरहेका छन् । तर, दुवैको फोन स्वीचअफ रहेको बताईएको छ ।
गण्डकी प्रदेशमा एमालेका २७, कांग्रेसका १५ र माओवादीका १२ र जनमोर्चाका ३, जसपाका २ र १ स्वतन्त्र सांसद छन् । गण्डकीमा नयाँ सरकार गठन गर्न अर्थात अविश्वास प्रस्ताव पास हुन वा विश्वासको मत लिन ३१ सांसद आवश्यक पर्छ ।
माओवादी, कांग्रेस र जसपाका २८ सांसदले हस्ताक्षर गरेर गत वैशाख २ गते मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव पेश गरेका थिए । राजमोका एक सांसद मतदान गर्ने समयसम्म उपस्थित नभएमा गुरुङ नेतृत्वको सरकार टिक्ने पक्का रहेको छ ।