बैशाख १५, पोखरा,
कोरोना महामारी नियन्त्रणका लागि कास्की प्रशासनले आज विहान ६ बजेदेखि लागुहुने गरि निषेधाज्ञा लगाएको छ । जिल्ला प्रसाशन कार्यालय कास्कीले अत्यावश्यक वाहेक सम्पूर्ण कार्यहरु बन्द गर्न र सवारि साधनमा जोरविजोर प्रणालिको लागु गरेको छ । यसैबिच निषेधाज्ञाको अवज्ञा गरेका ४ सय भन्दा धेरै सवारीसाधन नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।
प्रहरीले पोखराका विभिन्न स्थानमा गरेको अनुगमनका क्रममा विहानदेखि यो समाचार तयार पार्दा सम्म ४ सय ५० सवारीसाधन नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी सुबास हमालले जानकारी दिनुभयो । जोरविजोर प्रणालि लागुभएपछि आज विजोर गते भएकोले बिजोर नम्मर प्लेटका सवारिलाई मात्र सञ्चालन अनुमति रहेकोमा जोर नम्मरका गाडिहरु नियन्त्रणमा लिईएको उहाँले बताउनुभयो ।
नियन्त्रण गरिएका मध्य ९० वटा चारपाङ्ग्रे अरु सबै दुई पाङ्ग्रे सवारी रहेको प्रहरीले बताएको छ । सहरका मुख्य चोकचोकमा ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ । नियन्त्रण गरिएका सवारीसाधनहरु बेलुका सम्बन्धित व्यत्तिलाई चेतावनीसहित फिर्ता दिने प्रहरीले जनाएको छ ।
प्रेस तथा ड्यूटीमा निस्किएका सरकारी कार्यालय, स्वास्थ्य संस्था एवं बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई छुट गरिएको छ । साथै कुनै अत्यावश्यक कामको लागि निस्किएकाहरुलाई पिरमर्का बुझेर छाड्ने गरिएको पनि उहाँले बताउनुभएको छ । पोखरामा शिक्षण संस्था, उद्योगधन्दा, पार्टी प्यालेसहरु बन्द रहेका छन् ।
स्वास्थ्य सामग्रीका पसल, उपभोग्य, खाद्यान्न र निर्माण सामग्री पसल बिहान ५ देखि राति ८ बजेसम्म खोल्न छुट दिइए पनि त्यसबाहेक बाहेकका अन्य पसलहरु बन्द गरिएको हो ।
अत्यावश्यक कामबाहेक घरबाहिर हिँडडुल गर्न, सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार सञ्चालन गर्न, मानिस भेला हुन, भिडभाड गर्न सभा जुलुस गर्न जात्रा महोत्सव गर्न प्रशासनले निषेध गरेको छ । होटेल तथा रेष्टुरेन्टमा बिहान ८ देखि राति ८ बजेसम्म टेक–अवे सेवा मात्र सञ्चालन हुनेछ ।
पोखराको नगरक्षेत्रमा तैनाथ प्रहरीले माइकिङ गर्दै कोरोना सचेतनासम्बन्धी सञ्चार प्रवाह गरिरहेका छन् भने मास्क नलगाउने सर्वसाधारणलाई एकपटक सम्झाएर छाडिएको पनि हमालले बताउनुभएको छ ।