गण्डकी प्रदेशका थप १ सय १ जना सहित देशभर ३५ सय भन्दा बढि संक्रमित थप १२ जनाको मृत्यु

corona

बैशाख १३, कास्की,

पछिल्लो २४ घन्टामा देशभर ३ हजार ५ सय ५६ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार १२ हजार ४ सय जनामा गरिएको पिसिआर परीक्षणमा ३ हजार ४ सय ४२ जना र ८ सय ९३ जनामा गरिएको एन्टिजेन परीक्षणमा १ सय १४ जना गरी जम्मा ३ हजार ५ सय ५६ जना नयाँ संक्रमित भेटिएका हुन् ।

यस्तै, आज १२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । हालसम्म ३ हजार १ सय ७६ जनाले कोरोनाबाट ज्यान गुमाएका छन् । त्यस्तै, आज ३ सय ७८ जनाले कोरोनालाई जितेर घर फर्किएको मन्त्रालयले जनाएको छ । हाल देशभर ६५ जना क्वारेन्टाइनमा रहेको र देशभर २२ हजार ४ सय ३४ जना संक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । यसैबिच गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशका ४ जनाको कोराना संक्रमणबाट मृत्यु भएको छ ।

मृत्यु हुनेहरुमा कास्कीका १ जना महिला र १ जना पुरुष, स्याङ्जाका १ जना पुरुष र म्याग्दीका १ जना पुरुष रहेका छन् । आज मृत्यु भएका सबै संक्रमितहरुको पोखरा र पाल्पाका अस्पतालहरुमा उपचारका क्रममा निधन भएको हो । यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २१५ पुगेको छ ।

यसैबिच पछिल्लो २४ घण्टामा पोखरामा थप ६९ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । त्यस्तै गण्डकी प्रदेशका अन्य जिल्ला नवलपुरमा थप १२ जना, पर्वतमा ५ जना, स्याङ्जामा ३ जना, म्याग्दीमा ३ जना, तनहुँमा ३ जना तथा लमजुङमा २ जना सहित १ सय १ जनामा संक्रमण पुष्टि भएको छ । यो संगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या १७ हजार ८ सय ३८ पुगेको छ । कास्कीमा मात्रै हाल सक्रिय संक्रमितको संख्या ७ सय नाघिसकेको छ ।