बैशाख १३, कास्की
काठमाडौं उपत्यकाका तीन जिल्लामा आगामी बिहीबार राति १२ बजेदेखि एक साता निषेधाज्ञा लागू गरिने भएको छ ।
सोमबार बसेको काठमाडौं‚ ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले कोरोना भाइरस संक्रमण तीव्र रूपमा बढेपछि रोकथामका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।
पहिलो चरणमा एक हप्ता निषेधाज्ञा लागु गरिने भएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिनुभयो ।
उपत्यकामा अत्यावश्यक सेवाबाहेक सबै सेवा बन्द गरिने पनि उनले बताए । उनका अनुसार निजी र सार्वजनिक यातायात दुवै बन्द गरिनेछ । त्यस्तै शैक्षिक संस्था, निजी कार्यालय, होटेल रेस्टुरेन्ट तथा पार्टी प्यालेस सञ्चालनमा पनि रोक लगाइने तयारी छ ।
यसैबीच, पोखरा महानगरपालिकाभित्र संक्रमित दर बढ्दै गएपछि महानगरभित्र निषेधाज्ञाको तयारी गरिएको छ ।
कोरोनाको हटस्पट बनेको कास्कीको पोखरामा लकडाउन गर्ने वा नगर्ने ? भन्ने बारेमा निर्णय गर्न डिसीसीएमसीको बैठक पछि निर्णय गरिने कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले बताउनुभयो ।
समितिले सरकारलाई सिफारिस गरेको भए पनि सरकारबाट यसबारेमा आधिकारिक पत्र नआएको अवस्थासम्म लकडाउन नहुने तर सरकारको पत्र प्राप्त भएपछि डिसीसीएमसीको बैठक बसेर निर्णय गरिने सिडिओ गौतमले जानकारी दिनुभएको हो ।
सहरी क्षेत्रमा ५ सय बढी सक्रिय संक्रमित भए निषेधाज्ञा गर्न सकिनेबारे सम्बन्धित स्थानीय तहलाई अधिकार दिइएको छ ।