वर्षायाममा रोगको प्रकोप बढ्दो

पोखरा ।

वर्षायाम सुरुवातसँंगै अस्पतालहरूमा बिरामीको चाप बढ्न थालेको छ । विशेषगरी पोखराका ठूला अस्पतालहरुमा वर्षायामसँगै बिरामीको संख्यामा पनि वृद्धि हुँदै गएको छ । झाडापखाला लगायत सरुवा रोगले पनि सताउने गरेको छ । वर्षा मौसमसँगै ज्वरो, टाइफाइड, झाडापखाला, आँउ, स्क्रब टाइपस, ठेउला लगायतका रोगको समस्या आउन थालेका छन् । वर्खायाममा लाग्ने रोग बढ्न थालेपछि चिकित्सकहरूले सचेत रहन आग्रह गरेका छन् । वर्षायाममा के–कस्ता स्वास्थ्य समस्या आइपर्न सक्छन् र समस्याबाट बच्न के गर्ने त ? यिनै पेरिफेरीमा रहेर पश्चिमाञ्चल क्षेत्रिय अस्पतालका डा. आशिष त्रिपाठीसँग उमा आलेमगरले गरेकोे कुराकानी ः

१. अहिले विरामीको चाप कत्तिको छ ?
– वर्षा मौसमको सुरुवातसँगै सरुवा रोग अस्पतालमा दैनिक ३० देखि ४० जना बिरामी ज्वरोको समस्या लिएर आउने थालेको जानकारी दिए । वर्षामा ज्वरो, फुड प्वाइजन, टाइफाइड, मलेरिया, कीटजन्य रोगहरू देखापर्नसक्ने भन्दै डा. पुनत्रिपाठी रोगबाट सावधानी अपनाउन जोड दिन्छन् ।

२. विशेषगरी कस्ता कस्ता स्वास्थ्य समस्या लिएर विरामीहरु आउने गर्दछन् ?
उनले प्रदूषित पानीकै कारण झाडापखाला, हैजा, जन्डिस, टाइफाइड, आउँजस्ता रोगको समस्या आउने गरेको बताए । यसबाहेक लामखुट्टेको टोकाइबाट पनि रोगहरु लाग्न सक्नेछन् । स्क्रव टाइपस, इन्सेफ्लाइटिस, मलेरिया, डेगीलगायतका रोगहरु पनि यहि समयमा लाग्ने हुनाले घर वरपर सफा राख्ने, खाल्डाखुल्डी छन् भने पुरिदिने चिकित्सकको सुझाव छ ।

३. अघिल्लो वर्षको तुलनामा के यो वर्ष विरामीको चाप बढि हो ?
तुलनात्मक रुपमा बढि नै हो । विशेषत वर्खाको सुरुवातसँगै मानिसमा विभिन्न खालका समस्या उत्पन्न हुन थाल्छन, खाने बस्ने कुराको अझै टुंगो लागिसकेको छैन । सरसफाइको कमी, बासी, सडेगलेका फोहोर खानेकुरा, फोहोर बानीव्यहोरा, सडेगलेका फलफूल, जथाभावी खाना र पानीमा ध्यान नदिंदा रोगले आक्रमण नगर्ने कुरै भएन । गर्मीमा पकाइएको खाद्य वस्तु केही घन्टामै कुहिने, बेस्वाद र बेरङका हुन्छन् किनभने गर्मीमा सूक्ष्म जीवहरु छिटो र बढी सक्रिय हुन्छन् र तीव्र विषाक्त हुन्छन् र कुहिन्छन् । यस्ता कुरामा विचार नपु¥याउँदा पनि स्वास्थ्य समस्या अत्याधिक देखिएको छ । त्यसमा पनि अहिले अधिकांश मानिसहरुमा झाडापखालाकै समस्या धेरै छ ।

४. वर्षायाममा रोगको प्रकोप किन बढ्छ ?
वर्षायाममा ब्याक्टेरियाहरुको बढ्दो सक्रियताले गर्दा ज्वरो, मलेरिया, स्क्रब टाइपस, झाडापखाला, टाइफाइड जस्ता रोगहरु बढ्नेछन् । टाइफाइडमा ज्वरो आउने, टाउको दुख्ने, शरीर दुख्ने, कब्जियत देखिने, निरन्तर एकहप्तासम्म रुघा खोकीको लक्षण देखिने भन्दै यस्तो अवस्थामा पनि तत्काल अस्पताल जानु पर्ने चिकित्सकको सुझाव छ ।

५. वर्षायाममा सुरुवातीसंगै अन्य कस्ता–कस्ता स्वास्थ्य समस्या आइपर्न सक्छन् र त्यस्ता समस्याबाट कसरी बच्ने ?
वर्षामा प्रदूषित पानीकै कारण झाडापखाला, हैजा, जन्डिस, टाइफाइड, आउँजस्ता रोगको समस्या आउने गर्छ । यसबाहेक लामखुट्टेको टोकाइबाट पनि रोगहरु लाग्न सक्नेछन् । स्क्रव टाइपस, इन्सेफ्लाइटिस, मलेरिया, डेगीलगायतका रोगहरु पनि यहि समयमा लाग्ने हुनाले घर वरपर सफा राख्ने, खाल्डाखुल्डी छन् भने पुरिदिने चिकित्सकको सुझाव छ ।

स्क्रव टाइपसँ ः स्क्रब टाइपसको संक्रमण हुँदा १०५ डिग्री फरेनहाइटसम्म ज्वरो आउने गर्दछ, सास फेर्न गाह्रो हुने, शरीर बाँउडिने, खोकी लाग्ने, बान्ता हुने, पेट दुख्ने पखला लाग्ने, जिउ दुख्ने , जोर्नी र मांशपेशीमा पिडा हुने, गर्दन, नितम्ब र पाखुरामा गाँठो देखिने, रगतमा प्लेटलेट्सको संख्या घटदै जाने, छाती पाखुरा, हात खुट्टामा गुलावी बिमिरा देखिने जस्ता लक्षण देखा पर्दछ ।यसको समयमै उपचार हुन नसके दीर्घकालसम्म सुन्ने क्षमता गुम्ने, रक्तचाप कम हुँदै जाने, मिर्गौलाले काम गर्न छाड्ने, शरीरको प्रतिरक्षात्मक क्ष्मता कमजोर हुँदा सामान्य जिवाणुले पनि सजिलै संक्रमण गर्ने जस्ता जटिलताहरु देखा पर्न सक्छन् । यस जीवाणुले सबै उमेर समूहका मानिसलाई संक्रमण गर्न सक्छ ।हालसम्म यस जिवाणुको बिरुद्धमा दिइने लाइसेन्सेड भ्याक्सिन बन्न सकेको छैन् । तर संक्रमण भएपछि डक्सिसाइक्लिन( १०० एमजी दिनको दुईपटक)टेट्रासाइक्लिन जस्ता एन्टिबायोटिकको मद्धतले चिकित्सकको सल्लाह बमोजिम सेवन गरि वा सलाइनको माध्यमले नशाबाट दिइ पूर्णरुपमा निको पार्न सकिन्छ ।यस जिवाणुबाट बच्नका लागि सुक्ष्मकिरा, सुल्सुले , उपियाँ, जुम्रा आदिबाट टाढा बस्ने, विरामीको सुरक्षित ढंगले हेरचाह गर्ने, बिरामीको सामानहरु जथाभावी नराख्ने र प्रयोग नगर्ने तथा सरसफाईमा राम्रो ध्यान दिने गर्नुपर्छ ।

इन्सेफ्लाइटिस ः एक्युट इन्सेफ्लाइटिस सिन्ड्रोम (एइएस) देखिने बित्तिकै धेरै स्वास्थ्यकर्मी जापानिज इन्सेफ्लाइटिस शंका गरी त्यसै अनुरुप जाँच पड्तालतिर लाग्ने गर्छन्। यो गलत पनि छैन। तर, केही वर्षयता नेपाल सरकारले जापानिज इन्सेफ्लाइटिस विरुद्धको खोप खासगरी उच्च जोखिमका स्थानहरुमा दिन थालिसकेको छ।तत् पश्चातको अध्यनले नेपालमा जापानिज इन्सेफ्लाइटिसको जोखिम धेरै हदसम्म कम भएको देखाएको थियो र हाल पनि यो खोपले निरन्तरता पाइरहेको छ। तर, नेपालमा गरेका केही अनुसन्धानले एक्युट इन्सेफ्लाइटिस सिन्ड्रोमका बिरामी देखिने क्रम यथावत् रहेको र त्यसमा जापानिज इन्सेफ्लाइटिसका बिरामी ५ प्रतिशतभन्दा पनि कम हुने गरेको देखाएको छ। तर, हाल चिकित्सक र अनुसन्धानकर्ताहरुले एक्युट इन्सेफ्लाइटिस सिन्ड्रोमका अरु कारण भने पत्ता लगाउने गरेको देखिँदैन।

मलेरिया ः सामान्य रुपमा औलो भनेर चिनिने मलेरिया एनोफिलिज जातको संक्रमित पोथी लामखुट्टे टोकाइबाट सर्दछ । प्लामोडियम भाइवेक्स, प्लामोडियम मलेरी, प्लाज्मोडिम ओभेल र प्लाज्मोडिम फास्सिपारम गरी चार जातका परिजीविबाट यो रोग लाग्ने गर्दछ । प्लाज्मेडियम फाल्सीफारम जातको औँलोले मानिसको मस्तिष्कमा समेत आक्रमण गर्न सक्ने हुनाले मानिसको ज्यान जाने जोखिम रहन्छ । एनोफिलिज जातको पोथी लामखुट्टेको स्वस्थ्य मान्छेलाई टोक्दा मलेरियाको परजीवि सर्दछ । मानिसको शरीरमा प्रवेशपछि कलोजो र राता रक्तकोषमा विकास भईरगतको माध्यमबाट शरीरको विभिन्न भागमा भर फैलिन्छ र मानिसमा विभिन्न लक्ष्ण देखा पर्दछ । समयमै मलेरियाको उपचार भएन भने छोटो समयमै पनि ज्यान जान सक्छ ।

टाइफाइड ः सरसफाईको कमी, चर्पीको राम्रो व्यवस्था नभएको, शुद्ध खानेपानीको अभाव, झिंगा र अन्य किरा फट्याग्राको बढी प्रकोप भएको ठाउँमा बढी देखिने टाइफाइड तथा पाराटाइफाइड ब्याक्टेरियाबाट लाग्ने संक्रामक रोग टाइफाइड हो । विषमज्वर अथवा म्यादी ज्वरोमा ज्वरो बेस्सरी आउँछ, पाचन प्रणालीसंग सम्बन्धित लक्षणका साथ । सुरुमा यो रोग रुघाखोकी लाग्दा जस्तै जिउ तथा टाउको दुख्ने लक्षणबाट सुरु हुन्छ । बिरामीलाई भोक नलाग्ने र विस्तारै सिकिस्त हुँदै जान्छ । अन्य लक्षणमा ज्वरो बढ्नुको अनुपातमा नाडीको गति कम हुनु, कहिलेकाहीं वान्ता आउनु, काँचो केराउको झोल जस्तो पखाला लाग्नु वा दिसा कब्जियत हुनु आदि । मुख्य गरी पेटमा गुलाबी दाना आउने, शरीर कम्पन हुने र बिरामी बेहोस पनि हुनसक्छ । यसमा कलेजो र फियो सुन्निन सक्छ ।

जुका ः हात्तीपाइले, गोलो जुका, फित्तेजुका, अंकुसे जुका र चुर्ना जुका दिसाबाट उत्सर्जित हुनाले दिशाबाट सम्पर्कमा आउने माटो, सागसब्जी, फलफूल, पानी, दूध र अन्य खाद्यपदार्थ तथा दिसा बसिसकेपछि राम्रोसंग हात नधुँदा, मासु काँचै खाँदा, जुकाका फुल, लार्भा र जुका परजीवी निरोगीको मुखमा पर्दछन् । पेट दुख्ने, फुल्ने, अपच हुने, गुदद्वार चिलाउने, वान्ता हुने, पातलो दिसा हुने र पछि गएर जटिलता देखिन्छ ।

अन्तमा,
– वर्षायाममा खानेपानीमा विशेष सावधान हुनुपर्ने भन्दै सफा पानी पिउने र खाना पकाउँदा सफा पानी प्रयोग गर्दा रोगलाग्ने सम्भावना कम हुन्छ । औसतमा ४० बिरामीमध्ये कतिपय बिरामीहरू टाइफाइड भएका बिरामीहरु आउने गरेकोमा सामान्य उपचारपछि फर्कने गरेका छन् भने कतिपयलाई अस्पतालमा भर्ना गरेर राख्ने गरिएको छ । वर्षामा पानीबाट सरुवा रोग फैलनसक्ने भन्दै पानीलाई उमालेर पिउन आवश्यक छ । धाराको पानी मात्र होइन, ट्याङ्कर र जारकै पानीसमेत उमालेर पिउनु स्वास्थ्यको लागि राम्रो हुन्छ । पानी प्रदूषित हुनसक्छ भन्ने जान्दाजान्दै पनि सतर्कता नअपनाइएमा सरुवा रोग फैलने सक्नेतर्फ सचेत रहनुपर्छ । वर्षायाममा विशेष गरी स्वच्छ पिउने पानी र खानेकुरामा विशेष ध्यान दिनुपर्छ । नत्र पिउने पानी तथा खानेकुराबाट पनि कतिपय रोग लाग्ने सम्भावना धेरै हुन्छ । बालबालिकाहरुलाई संक्रमणयुक्त रोगहरुपछि किरा फट्याङ्ग्रा, उडुस, उपिँया, लामखुट्टेजस्ता किटजन्य टोकाइको माध्यामबाट पनि बालबालिकाहरुलाई छालामा संक्रमण, एलर्जी हुने खतरा बढी हुने भएकोले त्यस्ता रोगमा समेत अविभावकहरु सचेत हुनुपर्छ ।