बैशाख ११, गोरखा,
भूकम्प स्मृति दिवसको अवसर पारेर गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
वैशाख १२ गतेका दिन पालिकाअन्तर्गतका सरकारी तथा गैरसरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था र विद्यालयहरुमा सार्वजनिक बिदा हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारीले जानकारी दिए।
गत चैत २५ गते बसेको गाउँ कार्यपालिकाको बैठकले २०७२ सालको भुकम्पमा ज्यान गुमाउनेहरुको स्मृतिमा आइतबार सार्वजनिक विदा दिने निर्णय गरेको उनले बताए। ०७२ वैशाख १२ गतेको विनासकारी भूकम्पको केन्द्रबिन्दु पालिकाको वडा–१ र २ मा पर्छ।
भूकम्प स्मृति दिवसका अवसरमा गाउँपालिकाले स्थानीय संघसंस्थासँग समन्वय गरेर विभिन्न कार्यक्रमको आयोजना गरेको छ। यसअघि नै लिगलिगकोटदेखि बारपाकसम्मको दौड, साइकल यात्रा लगायतका सप्ताहव्यापी कार्यक्रम गर्ने निर्णय गरेको पालिकाले कोरोना संक्रमण जोखिम बढेको भन्दै त्यो कार्यक्रम स्थगित गरेको छ ।