धरहरा चढेर आईफल टावर सम्झिएको प्रधानमन्त्री ओलीको भनाई/हामिले चैँ कहिले चढ्न पाउँछौँ ? जनताको प्रश्न

dharahara-anabaran by pm

बैशाख ११, काठमाण्डौ,


प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो पुनर्निर्मित धरहराको उद्घाटन गर्नु भएको छ । धरहराको २० औं तलामा रहेको बाल्कोनीबाट पुष्पवृष्टी गर्दै प्रधानमन्त्री ओलीले बाल्कोनीबाट काठमाण्डौ उपत्यकाको अवलोकन पनि गर्नु भएको छ ।
छ वर्षअघि भूकम्पले ढालेको धरहराको टावर बनाउने काम मात्र सकिएको छ । भत्किएको धरहरा यथावत् राखेर नजिकै अर्को धरहरा बनाईएको हो जुन् ४२ रोपनी क्षेत्रफलमा फैलिने छ । धरहराको टावर नजिकै चार तले भूकम्प र टक्सारसम्बन्धी सङ्ग्रहालय, विश्रामस्थलसहितको अत्यन्तै मनमोहक बगैँचा तथा सङ्गीतमय फोहरा लगायतको काम हुन बाँकिनै रहेकोले सर्वसाधारणकालागि भने धरहरा आउँदो मँसिर पछि मात्र खुल्ने पुनर्निर्माण प्राधिकरणका विज्ञ इञ्जिनियर राजुमान मानन्धरले जानकारी दिनुभयो ।
धरहरा बाहिरबाट हेर्दा ११ तलाको देखिए पनि भित्र जमिनमुनि दुई तलाको भूमिगत संरचना रहने छ । जमिनमाथि भुइँतलासहित २३ तला हुनेछ । जमिनमाथिबाट गजुरसहित धरहराको उचाइ ८३ दशमलव ८५ मिटर रहेको छ । धरहराभित्र दुई लिफ्ट राखिएको छ । लिफ्टमा एक पटकमा १० जनाले यात्रा गर्न सक्ने मानन्धरले बताउनुभयो । लिफ्टका कारण वृद्धवृद्धा तथा अपाङ्गता भएकालाई धरहरा चढ्न सहज हुनेछ । धरहरामा फलामको भ¥याङसमेत जडान गरिएको छ ।
धरहराबाट उपत्यकाको दृश्यावलोकनका लागि २० औं तला बाहिर २ दशमलव ५ मिटर चौडाइको बार्दलीसमेत बनाइएको छ । २२ औं तलामा पुरानो धरहराबाट झिकेर सुरक्षित राखिएको शिवलिङ्ग स्थापना गरिएको छ ।
के भने प्रधानमन्त्रीले उद्घाटन पछि ?
प्रधानमन्त्री केपी शर्मा ओलीले धरहराको टुप्पोमा पुग्दा आफूलाई फ्रान्सको आइफल टावर चढेको जस्तै स्मरण भएको बताउनुभएको छ । धरहरा उद्घाटन समारोहलाई सम्बोधनका क्रममा धरहरा चढ्दाको अनुभव सुनाउँदै प्रधानमन्त्रीले भन्नुभयो ‘मलाई अलीअली आइफल टावर चल्दाको स्मरण भयो । आइफल माथि पुग्दा उधुम हावा चल्छ । धरहरामा पनि मान्छे चढेपछि त्यहाँको चिसो हावाले बेग्लै किसिमको आनन्द दिनेगरी निर्माण भएको छ ।’ विगतको भन्दा धरहरा अग्लो भएको बताउँदै ओलीले धरहरा नेपालीको भावनासँग जोडिएको बताउनुभयो ।
यसैबिच
आजभन्दा ५ वर्षअघि २०७२ साल बैशाख १२ गते दिउँसो ११ बजेर ५६ मिनेटमा गएको प्रलयकारी महाभूकम्पमा ढलेको सुन्धारास्थित धरहरा पुनर्निर्माण भएर फेरि ठडिएको छ । तर भूकम्पको त्रासदिपूर्ण अवस्थालाई प्रत्यक्ष भोगेका स्थानियले भने प्रधानमन्त्रीले चढेको धरहरामा आँफुहरु चढ्न कहिले पाउने भन्दै प्रश्न गरेका छन् ।
निजगढ स्थायी घर भई विगत १४ वर्षदेखि न्युरोडमा बस्दै आएका भोला भनिने दीपक सापकोटाले धरहरा लडेर पश्चिमतर्फ बज्रिएपछि त्यहाँका धेरै घर, पसल ध्वस्त भएको याद गर्दै बल्लतल्ल आफुले ज्यान बचाएको सम्झिनुभयो । ध्वस्त धरहराको पुनर्निर्माणलाई पनि प्रत्यक्ष देख्नुभएका उहाले परिवार नै लिएर फेरि टुप्पोमा जाने, अनि काठमाडौं चिहाउने रहर रहेको बताउनुभएको छ ।