बैशाख १०, काठमाण्डौ,
अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले मङ्गल ग्रहमा अक्सिजन बनाउन सफल भएको बताएको छ । मोक्सी नामको यन्त्र प्रयोग गरेर मङ्गल ग्रहमा रहेको कार्बनडाइअक्साइडबाट अक्सिजन बनाएको नासालाई उदृत गर्दै बीबीसीले जनाएको छ ।
मोक्सी यन्त्रले यसै हप्ता एक जना मानिसलाई १० मिनेटका लागि पुग्ने पाँच ग्राम अक्सिजन बनाउन सफल भएको हो । नासाले भविष्यमा मङ्गल ग्रहमा हुनसक्ने मानवसहितको अन्तरिक्ष अभियानहरूमा धेरै अक्सिजनको साटो मोक्सीको ठूलो रूपलाई लैजान सकिने विषयमा अध्ययन गरिरहेको जनाएको छ ।
मङ्गल ग्रहको हावामा ९६ प्रतिशत कार्बनडाइअक्साइड र शून्य दशमलव १३ प्रतिशत मात्रै अक्सिजन छ ।
मोक्सीले एक अणु कार्बन र दुई अणु अक्सिजन मिलेर बनेको कार्बनडाइअक्साइडबाट एक अणु अक्सिजन निकाल्न सफल भएको हो । यो प्रविधिलाई विकास गरेर अक्सिजनलाई हाइड्रोजनसँग मिसाइ पानी पनि बनाउन सकिने वैज्ञानिकहरूको अपेक्षा छ । नासाले गएको बिहीबार मंगल ग्रहमा हेलिकप्टरको दोस्रो सफल उडान परीक्षण पनि गरिसकेको छ ।