त्रिकोणात्मक टी–२० शृङ्खलाको ट्रफी सार्वजनिक, पारस खड्का नखेल्ने

t 20 trafi

बैशाख ३, कास्की,


नेपाल क्रिकेट सङ्घ (क्यान) ले त्रिकोणात्मक टी–ट्वान्टी शृङ्खलाको ट्रफी सार्वजनिक गरेको छ । नेपालका कप्तान ज्ञानेन्द्र मल्ल, नेदरल्याड्सका कप्तान पिटर सीलार र मलेसियाका कप्तान फैज अहमदले शुक्रवार (आज) ट्रफी सार्वजनिक गरेका हुन् ।
शनिवार (भोलि) देखि कीर्तिपुर मैदानमा सुरु हुने शृङ्खलामा नेपाल, नेदरल्यान्ड्स र मलेसिया सहभागी छन् । प्रतियोगिताको पहिलो खेलमा नेपालले नेदरल्यान्ड्ससँग खेल्दैछ । खेल दिउँसो सवा एक बजे सुरु हुनेछ ।
कोरोना सङ्क्रमण जोखिमलाई ध्यानमा राखेर कम दर्शकलाई प्रवेश गराउने क्यानले जनाएको छ । स्वास्थ्य मन्त्रालयले यसअघि नै खेलकुदलगायतका कार्यक्रममा भिड नगर्न अपिल गरिसकेको छ ।

पारस खड्का

यसैबिच नेपाली राष्ट्रिय क्रिकेट टिमका ब्याट्सम्यान पारस खड्काले त्रिकोणात्मक टी–२० शृङ्खला गुमाउने भएका छन् । गएको आइतवार अभ्यास खेलमा फिल्डिङ गर्ने क्रममा दायाँ हातको काँधमा चोट लागेर घाइते भएका पारसले भोलि (शनिवार) देखि त्रिवि क्रिकेट मैदानमा सुरु हुने प्रतियोगिता गुमाउने भएका हुन् । प्रतियोगितामा नेपालसहित नेदरल्याड्स र मलेसिया सहभागी छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिँदै पारसले आफूले दुई÷तीन आराम गर्नुपर्ने देखिएको बताएका छन् । आफूले प्रतियोगिता गुमाए पनि नेपाली टोली राम्रो रहेको र जित्ने उनले विश्वास व्यक्त गराएका छन् ।