चट्याङ्ग लागेर गण्डकीका २ सहित ४ जनाको ज्यान गयो

chattyang

बैशाख ३, कास्की,

चट्याङ्ग लागेर गण्डकी प्रदेशका दुई जिल्ला बाग्लुङ र स्याङ्जा सहित भोजपुर र तेह्रथुममा समेत गरि ४ जनाको ज्यान गएको छ । हिजो बेलुका परेको चट्याङ्ग लागेर बाग्लुङको तारखोला गाउँपालिका–२ सिलेका ४५ वर्षका खिमलाल कँडेलको ज्यान गएको छ । गोठमा भैँसीको दूध दुहुँदै गर्दा चट्याङ्ग लागेका उनको धौलागिरी अस्पताल बाग्लुङमा उपचारका क्रममा राति १० बजे ज्यान गएको प्रहरीले जनाएको हो ।

यस्तै, स्याङ्जाको फेदीखोला गाउँपालिका–५ मा घरमा बसिरहेका बेला चट्याङ्ग लागेर घाइते भएकी ३९ वर्षकी ईश्वरी लामिछानेको गण्डकी अस्पतालमा उपचारका क्रममा ज्यान गएको छ । त्यस्तै, भोजपुरको षडानन्द गाउँपालिका–८ निगुरेमा ६० वर्षकी मनमाया राईलाई पनि घरमै बसिरहेकोबेला चट्याङ्ग लागेर ज्यान गएको प्रहरीले बताएको छ ।
त्यस्तै तेह्रथुमको, छथर गाऊपालिका ६ असिने भन्ने स्थानमा बस्ने ९ वर्षीया बालिका रोहिता मगरको पनि चट्याङ्ग लागेर ज्यान गएको प्रहरीले जानकारी दिएको छ ।