देशले विकासको गति लिँदैछ, अहिले नै लकडाउन हुँदैन प्रधानमन्त्री

kp-sharma-oli pm

बैशाख १, कास्की,

प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्ष २०७८ का अवसरमा राष्ट्रका नाममा सम्बोधन गर्दै सरकार कोभिडको महामारीका बेलामा सकेसम्म बन्दाबन्दी गर्ने पक्षमा नभएको बताउनुभएको छ ।

प्रधानमन्त्री ओलीले सिंहदरस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट राष्ट्रका नाममा सम्बोधन गर्ने क्रममा सरकार बन्दाबन्दी गर्ने पक्षमा नरहेको स्पष्ट पार्नुभएको हो । उहाँले सरकारले बन्दाबन्दी गर्ने धम्की दिएको भन्ने कुरा बाहिर आएको उल्लेख गर्दै सकेसम्म बन्दाबन्दीको पक्षमा नरहेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले कतिपय राष्ट्रहरुले कोभिडको महामारी बढी फैलिएको हुनाले बन्दाबन्दी गर्न बाध्य भएको र जनताको सुरक्षाका लागि नेपाल सरकार गम्भीर रहेको स्पष्ट पार्नुभयो ।

नयाँ वर्षका अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरुको सुख, शान्ति र समृद्धिको कामना गर्दै प्रधानमन्त्री ओलीले कोभिड–१९ को महामारीका अवसरमा सबैलाई सुरक्षित रहन आग्रह गर्नुभयो ।
यसैबिच
प्रधानमन्त्री ओलीलेसम्बोधन गर्दै एक वर्षको समीक्षा गर्नुभएको छ । उहाँले कोभिड–१९ र राजनीतिक पृष्ठभूमि उथुलपुथुल अवस्था सिर्जना भए पनि ०७७ सालमा आशलाग्दा थुप्रै कामहरू भएको दाबी गर्नुभयो ।

२०७७ मा प्रतिकुलताका बीच असाधारण काम भएको र राजनीतिक, आर्थिक तथा सामाजिक क्षेत्रमा सफलताको वर्ष बनेको प्रधानमन्त्रीले दाबी गर्नुभयो । दशकौंपछि मेलम्चीको पानी काठमाडौं आएको, अतिक्रमित भूमि फिर्ता, पुनःनिर्माणका कामहरूले पूर्णता पाउने क्रम बढेको उहाँको भनाइ थियो ।

प्रधानमन्त्री ओलीले आफ्नो भू–भागसमेत सामेल गरेर नयाँ नक्सा सार्वजनिक गरेको र यसले राष्ट्रिय गौरवसँगै सबैमा आत्मविश्वास बढाएको दाबी गर्नुभयो । सरकारले सातै प्रदेशमा ठूला नयाँ औद्योगिक क्षेत्रको सिलान्यास गरेको र लगानीका लागि शान्तिपूर्ण र अनुकुल वातावरण बनेको उहाँले उल्लेख गर्नुभयो ।
२०७६ सालमा पृथकथावादी सोचसहित अघि बढेको समूहलाई राष्ट्रिय राजनीतिमा समाहित गराएको भन्दै प्रधानमन्त्री ओलीले मुलुकबाट हिंसाको राजनीतिको अन्त्य भएको जिकिर गर्नुभयो ।